नेपाललाई भारतको सहयोग जारी रहोस्ः मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले नेपालको विकासमा भारतको आर्थिक र प्राविधिक सहयोग अतुलनीय रहेको भन्दै भविष्यमा पनि यो सहयोग निरन्तर होस् भन्ने ईच्छा नेपाल सरकारको रहेको बताएका छन् ।

ईण्डियन टेक्निकल एण्ड ईकोनोमी कोअपरेशन दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले भारत सरकारले नेपाल सरकारलाई दिँदै आएको आर्थिक सहायताप्रति धन्यावाद दिए ।

‘भारतले नेपालको विकासमा आर्थिक र प्राविधिक सहयोग दिँदै आएको छ’, उनले भने, ‘यो सहयोग भविष्यमा पनि निरन्तरता रहोस् ।’

मन्त्री पण्डितले भारतको संघीयताको मोडल हेर्नका लागि आफू केही समयका लागि भारत भ्रमणमा गएको बताएका थिए । ‘म मन्त्री भएपछि भारतको संघीयताको मोडल अध्ययन गर्न भ्रमण गर्न गएको थिएँ’, उनले भने, ‘भारतबाट संघीयताका विषयमा नेपालले धेरै सिक्न पाएको छ ।’

संघीय मामिला मन्त्री पण्डितले नेपाल–भारतबीचको सम्बन्धमा आँच आउन दिन नहुने बताएका छन् । ‘नेपाल–भारतबीचको सम्बन्ध आफ्नै खालको छ’, उनले भने, ‘यो सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ ।’

प्रदेश १ मा भारतको सहयोगमा मनमोहन टेक्निल स्कुल बन्दै गरेको मन्त्री पण्डितले बताए । ‘भारतले नेपालको प्राविधिक क्षेत्रमा गरेको सहयोग पनि सह्रानीय छ’, उनले भने, ‘यो सहयोगले नेपालको विकास र जनताको आर्थिक वृद्धिमा सहयोग मिलेको छ ।’

नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले नेपाललाई प्राविधिक क्षेत्रमा सहयोग गर्न भारतले सहयोग गर्दै आएको बताए । उनले नेपाल सरकारका उच्च कर्मचारीदेखि हुम्लामा बस्ने साधारण किसान महिलालाई भारतमा लगेर प्रविधिक शिक्षा र ज्ञान दिएको बताए ।

भारतका नाम चलेका ठूला प्राविधिक शिक्षालयमा सिप सिकेर आएका धेरैले उदाहरणीय काम गरेको राजदूत पुरीले बताए ।

कार्यक्रममा भारतमा सिप सिकेर आएकाहरूले आ–आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरू पनि देखाइएको थियो ।

Published : Monday, 2019 September 30, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया