अर्बिटमा काण्ड, अर्काको संस्था हडपेर राजश्व छल्दै रेग्मी

काठमाडौं । कुनै समय मेडिकल अध्ययन गर्न चाहने विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गर्ने राम्रो इन्स्टिच्यूट थियो– अर्बिट एमविविएस इन्ट्रान्स प्रिपरेसन । उक्त इन्स्टिच्युटले भाइब्रेन्ट र नेमलाई समेत पछाडि पारेको थियो ।

पुतलीसडकस्थित सेयरमार्केटको ठीक विपरीत उकालोमा रहेको उक्त इस्न्टिच्यूटका सञ्चालक थिए–उद्धव केसी । सञ्चालक केसी मिटरब्याजी महेशबहादुर सिंहको फन्दामा पर्दै गए । उनैले सम्पर्क अधिकृतका रुपमा अर्बिटमा भित्र्याएका सुनिल रेग्मीले बिस्तारै आफ्नो पहुँच बढाउँदै लगे । रेग्मीको काम मेडिकल पढ्न ईच्छुक विद्यार्थीलाई खोजेर तयारी कक्षासम्म ल्याउने थियो ।

आर्थिक समस्याबाट ग्रस्त सञ्चालक केसी मिटरब्याजी सिंहको समूहले सताएपछि नेपाल छाडेर जापानतिर हानिए । उनी पलायन हुने वित्तिकै रेग्मीले अर्बिटलाई हत्याए । दुई चार बर्ष उक्त कम्पनीलाई दुरुपयोग गर्दै मनग्य कमाए पनि ।

जब अर्बिटमा राजश्वले छापा मारेर सताउन थाल्यो, तब उनले तत्काल त्यस्तै मिल्दोजुल्दो कम्पनीको नाम राखेर नयाँ कम्पनी दर्ता गरे । जसको नाम रहेको छ–अर्बिट मेडिकल ईन्ट्रान्स । कम्पनीको लोगो पनि पहिलाकै कम्पनीसँग मिल्दोजुल्दो रहेको छ । कम्पनीको वेवसाइट ठेगाना एउटै रहे पनि अहिले उक्त साइट भने खुल्दैन ।

रेग्मीले पुरानो कम्पनीको नाम निशाना सबै मेटाए । राजश्वलाई झुक्याए । तर, उनले अहिले पनि अर्बिट एमविविएस ईन्ट्रान्स प्रिपरेसन भएकै भवन, फोन नम्बर मात्र प्रयोग गरिरहेका छैनन्, फेसबुक पेजको नाम समेत परिवर्तन गरी त्यहि चलाइरहेका छन्, अर्बिट मेडिकल ईन्ट्रान्सको नाममा । कार्यालय ठेगाना पनि एउटै छ, घरबेटी पनि एउटै । यदि परिवर्तन भएको छ त, रेग्मीको दैनिकी र हैसियत मात्र । त्यो पनि राजश्वलाई झुक्याएर । विगत ५–६ बर्षयता रेग्मीले राजश्व छलि गर्दै आइरहेका छन् ।

त्यसो त, उनले अर्बिट मेडिकल ईन्ट्रान्सको नाममा थुप्रै विद्यार्थीहरुलाई विदेश पठाएर अलपत्र पनि पारे, त्यो पनि कमिशनको लोभमा । अंग्रेजी भाषामा पढाई हुन्छ भन्दै इजिप्टको कायरो विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुलाई पठाए ।

तर, अंग्रेजी भाषामा पढाई नहुने भएपछि सवै विद्यार्थी फर्किएका थिए । फर्केर आएका विद्यार्थीहरुले अहिलेसम्म रकम फिर्ता पाएका छैनन् । उनीहरु प्रहरीमा गएर उजुरी हाल्ने तयारीमा छन् । त्यतिबेला कायरोबाट फर्किएकी एक पीडित विद्यार्थी निशाका आफन्त दिपक राईका अनुसार फर्केर आएपछि दुई लाख ५० हजार रुपैयाँ फिर्ता रेग्मीले दिएनन् ।

निशालगायत कायरो पुगेका थुप्रै विद्यार्थीहरु त्यसरी नै रेग्मीबाट ठगिएका थिए । त्यसैगरी रेग्मीले फिलिपिन्सस्थित मनिलामा रहेको इमिलियो विश्वविद्यालयमा पनि एमविविएस अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुलाई मोटो रकम लिएर पठाउने गरेका थिए, त्यो पनि कमिशनकै लागि ।

त्यतिमात्र होइन, एकताका विभिन्न मेडिकल कलेजका प्रशासकसँगको सेटिङमा एमविविएस अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुबाट लाखौं रकम असुली नाम निकाल्ने धन्दामा समेत उनी सक्रिय थिए ।

अहिले उनी अर्बिट मेडिकल इन्ट्रान्सको फेसबुक पेजबाट मेडिकल कलेजका सञ्चालकहरुलाई माफिया भन्दै प्रचार गरिरहेका छन् । लोकमान सिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख छँदा विराट मेडिकल कलेजमा २० जना विद्यार्थी भर्ना गर्दा रेग्मीले प्रतिविद्यार्थी १० लाख रुपैयाँ अतिरिक्त शुल्कबापत असुलेका थिए । यसरी अतिरिक्त शुल्क असुल्ने रेग्मी चाहिँ मेडिकल माफिया होइनन् ? अख्तियारले रेग्मीको कार्यालयबाट कम्प्युटर जफत समेत गरी अनुसन्धान गरेको थियो ।

तर, लोकमान सिंहका भाई नाता पर्ने विराटका ज्ञानेन्द्रबहादुर कार्कीसँग सेटिङ मिलाई रेग्मी त्यतिखेर अख्तियारको कारबाहीबाट जोगिएका थिए । एमबीबीएसको प्रश्नपत्र बिक्री प्रकरणमा मुछिएका रेग्मीलाई जोगाइएपनि त्यतिखेर नेमका नविन शर्मालाई भने अख्तियारले कारबाही गरेको थियो ।

कुनैबेला रत्नपार्कमा झोलामा विभिन्न प्रिन्टेड फिल्महरुको सिडी बिक्री गर्दै चप्पल पड्काएर हिड्ने रेग्मीको हैसियत अहिले एकाएक उकासिएको छ । जतिबेला विहान खाए, बेलुका के खाउँ ? भन्ने अवस्थामा उनी थिए । राज्यलाई लाखौं राजश्व छलेर उनी अहिले करोडपति बनेका छन् । ५० औं लाख पर्ने गाडीमा हँुईकिन्छन् उनी । विजनेश ट्रिपको नाममा कहिले कुन देश त कहिले कुन देश डुलिरहेका हुन्छन् ।

रेग्मीले जानकी मेडिकल कलेजका सञ्चालक बलराम गुप्ता सुन काण्डमा पक्राउ परेको बेला उनका दुई छोराहरुलाई कार्यालयमै बोलाएर सेटिङ मिलाइदिने भन्दै २५ लाख रकम असुलेका थिए । पछि गुप्ताका छोराहरुले बाबुलाई जेलबाट निकाल्न नसकेको भन्दै रेग्मीसँग पैसा फिर्ता माग्दा विभिन्न मिडियाहरुमा लागू औषध तस्कर छोराहरु भन्दै गलत समाचार लेख्न लगाएर छोराहरुलाई हतोत्साहि बनाएका थिए ।

कलेज पढ्दै गरेका छोराहरुबाट २५ लाख असुलेपछि रेग्मीले एक अनलाइनमार्फत् निरन्तर छोराहरुविरुद्ध समेत समाचार प्रवाह गराई उनीहरुलाई लुकेर हिँड्न बाध्य बनाएका थिए । यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार

Published : Monday, 2019 September 30, 2:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया