महेन्द्रनगरमा दशैं सस्तो बजार, कांग्रेस नेता खाँणद्वारा उद्घाटन

महेन्द्रनगर । धनुषा जिल्लास्थित क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा पहिलो पल्ट दशैं सस्तो बजारको आइतबार उदघाटन गरी विधिवतरुपमा सुरुवात भएको छ ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशप्रसाद यादवको अध्यक्षता र पूर्व रक्षामन्त्री एवं नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो ।

प्रदेश नं. २ को अस्थायी राजधानीको मुख्यद्वारको रुपमा चिनाउने महेन्द्रनगरमा लगातारको वर्षाले कार्यक्रम तोकेको समयभन्दा केही ढिला भएको थियो ।

कार्यक्रममा अतिथीहरू नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवाडा, प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादव, क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पञ्जियार, उपमेयर रचना माथेमा, समाजसेवी मितलाल गिरी, रामजी सिंह लगायतका अतिथीहरूको उपस्थिती रहेको थियो ।

नेपाली कांग्रेसका नेता खाँणले क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा लगाइएको सस्तो दशैं बजार कुनै ठाउँको विकासका लागि उदाहरणीय कार्य भएको बताएका छन् ।

उनले अगामी दिनमा पनि यसको निरन्तरता दिन शुभकामना दिएका छन् ।

यो क्षेत्रलाई थप उद्योग, व्यापार तथा पयर्टन प्रवर्द्धनमा थप टेवा पुर्‍याउन नयाँ सोँचका साथ दशैं बजार (सस्तो बजार) लगाइएको उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशप्रसाद यादवले बताए ।

आइतबारदेखि विधिवत सुरुवात भएको यो बजार ७ दिनसम्म चलिने संघका महासचिव दीपक साहले जनकारी दिए ।

सस्तो बजारमा आउँदै गरेको महान पर्वहरूका लागि आवश्यक पर्ने किराना समान, व्याग, जुत्ता, कस्मेटिक, लुगा लगायतका करीब ३८ भन्दा बढी स्टलहरू राखिएका छन् ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ, दारी ग्याङ्ग विशेष सहयोगी राजकिशोर राउत र रकी लगायतका युवाहरूको सहयोगमा कपडा बैंकको पनि उदघाटन गरिएको छ ।

कपडा बैंकको उद्घाटन गर्दै सम्पूर्ण नगरवासीहरूमा आफ्नो घरमा रहेको पुरानो कपडा सफा गरी स्टलमा राखिदिन र गरीव विपन्नहरूलाई स्टलबाट आफ्नो जिउमा लगाउने कपडा लैजान पनि संघले अनुरोध गरेको छ ।

कार्यक्रमका अतिथीहरूलाई स्वागत गर्दै उपाध्यक्ष विनय साहले संघको आयोजनामा लगाइएको ७ दिने सस्तो बजारमा मिथिला नगरपालिका, भंगहा नगरपालिका, लक्ष्मीनिय गाउँपालिका, बटेश्वर गाउँपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, जनकपुर उपमहानागरपालिका र आसपासबाट सस्तोबजारमा सामान किन्ने सर्बसाधारण आउने अपेक्षा लिएको बताए ।

कार्यक्रमको संचालन उद्योग वाणिज्य संघका सचिव अजय महतोद्वारा गरिएको थियो ।

Published : Monday, 2019 September 30, 6:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया