नेकपामा गुट चलाउने नेताहरू भ्रष्ट हुन्ः हरिबोल गजुरेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता हरिबोल गुजुरेलले प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई भेट्न समय नदिएको गुनासो गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, ‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरूले भेट्न खोज्दा समय दिन सक्नु भएको छैन ।’

‘प्रधानमन्त्रीले मन्त्रीलाई समय पनि दिनु हुन्न । मन्त्रीले के काम गरेका छन् भनेर उहाँले हेर्न सक्नु भएको छैन’, उनले भने, ‘प्रधानमन्त्रीलाई भेट्न मन्त्रीहरूले समय नै पाउँदैनन् । तर, अनावश्यक व्यक्तिहरूले भेट्न पाउँछन् ।’

उनले भने, ‘मन्त्रीहरूले चाहँदा प्रधानमन्त्रीलाई जति बेला पनि भेट्न पाउनुपर्छ ।’

सरकारले मुलुकमा दिन प्रतिदिन बढ्दै गरेको महँगी नियन्त्रण गर्न नसकेको नेता गजुरेलले बताए । ‘देशमा महँगी अचाक्ली बढेको छ’, उनले भने, ‘खसीको मूल्य बढ्दा किसानलाई फाइदा हुन्छ । यसमा म सहमत छु ।’

नकपाभित्र गुटको प्रभाव धेरै रहेको बताए । ‘गुट चलाउन पैसा चाहिन्छ । गुटले गर्दा नै भ्रष्टाचार हुने हो । गुट चलाउने नेताहरूले भ्रष्टाचार गरेका हुन्छन्’, नेता गजुरेलले भनेका छन्, ‘लोभीहरूले गुट बनाउँछन् । बालुवाटारबाट गुट चलाइएको छ । मैले संसदीय दलको बैठकमा यो कुरा भनेको छु ।’

नेता गजुरेलले पार्टीभित्र प्रचण्डको गुट नचलाएको बताए । गजुरेल प्रचण्ड निकटका नेता मानिन्छन् ।

Published : Sunday, 2019 September 29, 10:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया