नेकपाले दुःख दिएका जनतालाई कांग्रेसले संरक्षण गर्छः पौडेल

भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खड्गप्रसाद ओली नेतृत्वको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारसँग असन्तुष्ट भएका व्यक्तिलाई कांग्रेसले आकर्षित गर्नुपर्ने बताएका छन् ।

भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘दुईतिहाइको बलियो कम्युनिस्ट सरकार जनताको हितमा काम गर्न नसकेकाले धेरै जनता रुष्ट भएका छन्, ती रुष्ट जनतालाई कांग्रेसले आकर्षित गर्न सक्नुपर्दछ ।’

वरिष्ठ नेता पौडेलले अहिलेको समयमा कांग्रेसका नेता तथा कार्यकर्ता अल्छि भएर बस्न नहुने बताउँदै संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले मात्र देशको विकास गर्न सक्ने बताए । उनले कम्युनिष्ट पार्टीमा सिद्धान्तको टुङ्गो नभएकाले ‘सी’ पथको छलफलमा लागेको आरोप लगाए ।

पौडेलले सिद्धान्तको टुंगो नभएका कारण कम्युनिष्ट सरकार सत्ता सञ्चालनमा पूर्ण रुपमा असफल भएको बताएका छन् ।

वरिष्ठ नेता पौडेलले भने, ‘राज्य सञ्चालन सिद्धान्तका आधारमा हुन्छ तर कम्युनिष्टले सिद्धान्त नै अझैसम्म टुंगो लगाउन सकेका छैनन् । जसका कारण कम्युनिष्ट सरकार सत्ता सञ्चालनमा पूर्ण रुपमा असफल भयो ।’

नेता पौडेलले कम्युनिष्टहरूले झुटा आश्वासन बाँडेर एकपटक जनतालाई झुक्याइसकेको भन्दै अब कम्युनिष्टको लहैलहैमा लागेर जनता फेरी नझुक्किने बताए ।

उनले भने, ‘जनताले र मुलुकले भर गर्न सक्ने कांग्रेस बनाउन हामी लागेका छौं । हामी त्यो कांग्रेस बनाउछौं ।’

Published : Saturday, 2019 September 28, 11:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया