कांग्रेसले चुनाव जित्छ, जनता जगाउनुपर्छः डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले जनताको विश्वास जित्ने गरी कांग्रेसले काम गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले दुईतिहाइको कम्युनिस्ट सरकारबाट जनता आजित भएको बताए ।

‘तपाईंहरूलाई लागेको होला अहिले चुनाव भयो भने कांग्रेसले जित्छ’, उनले भने, ‘यस्तो भ्रम नपाल्नुहोला किनभने कांग्रेसले जनताको विश्वास जित्न सकिरहेको छैन । आशाको किरण जगाउन सकिएको छैन ।’

उनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विकास र समृद्धिका लागि कुनै काम नगरेको बताए ।

नेकपाले केही गरेन भनेर मात्रै कांग्रेसले जनताको मन जित्न नसक्ने उनले बताएका छन् ।

‘कांग्रेसले आशाको किरण जगाउन सकेको खोइ ? परिवर्तन ल्याउँछ भन्ने विश्वास जितेको खोइ ?’, उनले प्रश्न गरेका छन् । महामन्त्री डा.कोइरालाले कांग्रेसले परिवर्तन ल्याउँछ भन्ने विश्वास जगाउन सके मात्रै चुनाव जित्न सकिने बताए ।

नेपाली कांग्रेसका पालामा सडक कालोपत्रेदेखि जहाजहरू उडाउने र विमानस्थल निर्माण भएको प्रसंग निकाल्दै डा.कोइरालाले भने, ‘अहिलेको सरकारले सियोजति पनि काम गर्न सकेन ।’

Published : Saturday, 2019 September 28, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया