नेकपालाई ढाल्न कांग्रेस तयार भएर बसेको छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सिंहजस्तो गर्जिने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई कांग्रेसले सिकारी भएर ढालिदिने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले नेकपालाई ढाल्न नेपाली कांग्रेस तयार भएर बसेको बताएका हुन् ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सिंहजस्तो भएको बताएपछि थापाले आफूहरू पनि नेकपा जस्तो सिंहलाई ढाल्न ढुकेर बसेको बताएका छन् ।

‘हिजो प्रचण्डले भन्नुभयो, हामी अब केही वर्षभित्रमा नेपालमा एउटा मात्र पार्टी रहने अवस्था बनाउनेछौं’, उनले भने, ‘सिंहजस्तो गर्जनेछौं भनेर सार्वजनिक कार्यक्रममा बोल्नुभएको छ ।’

नेपाली कांग्रेसका युवा नेता थापाले भनेका छन्, ‘सिंहजस्तो गर्जिने नेकपालाई कांग्रेस सिकारी भएर ढाल्छ भन्ने तागत हामीले राख्न सक्नुपर्छ ।’

उनले नेकपा कपाल नभएको मान्छेलाई काइयो बेच्न सक्ने पार्टी भएको आरोप लगाएका छन् ।

‘नेकपा अहिले चीनको कम्युनिष्ट पार्टीको विचार हामी नेपालमा लिएर आउँछौं भनेर भन्दै छ’, उनले भने, ‘चीन आफू दिन्छु भन्दैन, तैपनि नेकपा हामीलाई बेच्छु भन्दैछ । नेकपा भनेको कपाल नभएको मान्छेलाई काइयो बेच्ने क्षमता राख्न सक्ने पार्टी हो । त्यसैले यसले के बेच्ला त्यतातिर म जान्न ।’

Published : Saturday, 2019 September 28, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया