छक्कै परे कांग्रेस नेता खतिवडाका कुराले उपप्रधानमन्त्री पोखरेल

भक्तपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरूको दुईतिहाइको बहुमत हुँदा पनि देशमा विकास गर्न नसकेको भन्दै चिन्ता जनाएका छन् ।

भक्तपुरको नगरकोटमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले जनता समक्ष कम्युनिस्टहरूले गरेको प्रतिवद्धता दुई वर्ष हुनै लाग्दा पनि कार्यान्वयन हुन नसकेको बताए । उनले जनता समक्ष गरेका बाचालाई पूरा गर्न सचेत गराए ।

‘कम्युनिस्टहरूको दुईतिहाइको सरकार छ । चाहने हो भने धेरै गर्न सकिन्छ’, उनले भने, ‘सरकार भ्रष्टाचारमा लिप्त भएको छ । अहिले सरकारका मन्त्री र नेताहरू कमाउधन्दामा लागेका छन् ।’

गृहजिल्ला ओखलढुंगाको विकासमा निर्वाचित भएर आएका तत्कालीन एमालेका सांसदहरूले विकासका काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसका युवा नेता खतिवडाले असन्तुष्टि जनाए । ‘नेकपाबाट जननिर्वाचित सांसदहरू छन्’, उनले भने, ‘ओखलढुंगाको विकास हुन सकिरहेको छैन । विकास गर्न उहाँहरूलाई मेरो खबरदारी छ ।’

ओखलढुंगाकै ईश्वर पोखरेल उपप्रधान एवम् रक्षामन्त्री रहेको बताएका खतिवडाले भने, ‘ओखलढुंगाको विकासका लागि हामी तपाईलाई दवाव दिइरहनेछौँ । तपाईलाई झस्काउने क्रममा सिंहदरबारको मन्त्रालयको धुलो उड्ने काम मात्रै नहोस् । विकास पनि होस् ।’

कार्यक्रममा रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली कांग्रेसका युवा नेता खतिवडाका अभिव्यक्तिमा समर्थन जनाउँदै आफ्नै पार्टीबाट निर्वाचित सांसद यज्ञराज सुनवारले काम गर्न नसकेको स्वीकार गरे ।

उनले भने, ‘रामहरिजीले भनेको कुरामा मेरो समर्थन छ । यज्ञराजजीले जित्नुभएको छ । जिल्लाको विकास गर्न सक्नु भएको छैन भन्ने गुनासा आएका छन् । अबका दिनमा जिल्लाको विकासमा ध्यान दिनुस् ।’

प्रतिनिधि सभाको निर्वाचनमा तत्कालीन एमालेका यज्ञराज सुनुवारले नेपाली कांग्रेसका रामहरि खतिवडालाई हराएका थिए । पराजित खतिवडाले ओखलढुंगाको विकासका लागि अहिले पनि धेरै विकासका कार्यक्रम जिल्लामा लगेका छन् ।

Published : Saturday, 2019 September 28, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया