दाङको उपनिर्वाचन कांग्रेसलाई जिताउन म आफै लाग्छुः दीपक गिरी

घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई माला लगाइदिएर मात्रै पार्टीमा एकता नहुने बताएका छन् ।

गृहजिल्ला दाङको श्रीगाउँमा बिहीबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले पार्टीमा एकता ल्याउन पार्टीका कर्मठ कार्यकर्ताको आवाज सुन्नुपर्ने बताए ।

नेता गिरीले बोल्दै गर्दा मञ्चमा प्रमुख अतिथिका रुपमा बसेका वरिष्ठ नेता रामचन्द्र पौडेलले सकारात्मक सन्देश दिएका थिए ।

‘शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई माला लगाइदिएर मात्रै पार्टीमा एकता हुँदैन’, उनले भने, ‘एकता भनेको पार्टीका कर्मठ कार्यकर्ताका बीचमा हुनुपर्छ । नेतृत्व लिन धेरै साथीहरू ईच्छुक छन् । उनीहरूको आवाज सुन्नुपर्छ ।’

‘कार्यकर्ताको अवाज सुनेर दाङको उपनिर्वाचनमा पार्टीले टिकट दिनुपर्छ’, नेता गिरीले भने, ‘कार्यकर्ताको भावना अनुसार पार्टीले टिकट दियो भने म एक महिना यही क्षेत्रमा बसेर उम्मेदवारलाई जसरी पनि जिताउन लाग्नेछु ।’

उनले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनलाई पार्टीले विशेष रुपमा ध्यान दिएर अगाडि बढ्नुपर्ने बताए । नेता गिरीले पटक पटक कार्यकर्ताको आवाजलाई सुनेर टिकट दिनुपर्ने बताएका थिए ।

गएको निर्वाचनमा एमाले र माओवादीबीच नाटकीय तालमेल भएका कारण कांग्रेसलाई नोक्सानी भएको गिरीले बताएका छन् ।

‘एमाले र माओवादी पार्टीबीच तालमेल भयो । पछि एकीकरण भयो’, उनले भने, ‘मेरो क्षेत्रमा कार्यकर्ताहरूले दिएको मायाका कारण मसँग एमालेका युवराज ज्ञवाली र शंकर पोखरेल निर्वाचनमा प्रतिस्पर्धा गर्न डराउनुभयो ।’ अबको उपनिर्वाचनमा नेपाली कांग्रेसले कसैलाई पनि जित्न नदिने चेतावनी नेता गिरीले दिएका छन् ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकार भ्रष्टाचारले लिप्त भएको भन्दै केन्द्रीय सदस्य गिरीले भने, ‘सरकारमा सुधार हुने कुनै अवस्था छैन । लोकतन्त्रलाई समाप्त पार्न खोजीरहेको छ । अधिनायकवाद जमाउन खोजेको छ ।’

‘न्यायालय मात्रै होइन मिडिया र नेपाल आर्मीलाई समेत कब्जा गर्न खोजेको छ’, उनले भने, ‘देशमा विकास गरेको छैन । दाङको विकास पनि जहाँको त्यहीँ अड्किएको छ ।’

सरकार बनेको दुई वर्ष भइसक्दा समेत जनताले कुनै पनि विषयमा राहतको अनुभूति गर्न नपाएको उनले बताए ।

नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान अनुसार तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले १९ वर्षपछि निर्वाचन गराएका कारण देश जनप्रतिनिधिहरूको हातमा पुगेको उनले बताए ।

‘कांग्रेसकै कारण निर्वाचन भयो । कम्युनिस्टहरू सत्तामा पुगे । उनीहरूले राम्रोसँग सत्ता चलाउन सकेका छैनन्’, पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता गिरीले भनेका छन्, ‘अबको निर्वाचनमा ती कम्युनिस्टहरूलाई परास्त गर्नुछ । लोकतान्त्रिक सरकार बनाउनुछ ।’

Published : Friday, 2019 September 27, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया