भाँडभैलो मच्चाउन महासचिव केसी लण्डन भित्रिए

लण्डन । डा.बद्री केसी सुटुक्क लण्डन आइपुगेपछि एनआरएनए युकेमा खैलाबैला भएको छ ।

एनआरएन युकेको चुनावी विवाद सेलाउन नपाउँदै एनआरएनएका आइसीसीका महासचिव डा.केसी सुटुक्क लण्डन झरेपछि विभिन्न आशंका भएका छन् ।

केन्द्रका लागि डेलिगेट्स छनोट गर्न लागिएको सबैभन्दा संवेदनशील क्षणमा महासचिव डा.केसी विना निम्तो लण्डन आइपुगेका हुन् ।

बिहीबार राति १० बजे हिथ्रो विमानस्थलमा उनलाई एनआरएन युकेका नवनिर्वाचित महासचिव फडिन्द्र भट्टराई, आइसीसी सदस्य रामशरण सिम्खडा लगायतले स्वागत गरेका छन् ।

‘म पर्सनल भिजिटमा लण्डन आएको हुँ । छोटो सूचनामा पनि साथीहरू मलाई स्वागत गर्न आउनुभयो । म आभारी छु’, उनले भनेका छन् ।

एनआरएनएमा अध्यक्ष पदका उम्मेदवार कुमार पन्तको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका डा.केसी एनआरएनएको एमआइएस सिस्टमलाई एकलौटी गर्न खोजेका कारण विवादमा आएका छन् ।

एनआरएनएका उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको ४८ घण्टाभित्रै डा.केसी लण्डन उत्रिएका हुन् ।

संसारकै सबैभन्दा ठूलो एनसीसी बन्न सफल एनआरएन युकेले काठमाडौंमा आउँदो महिना हुन लागेको विश्व सम्मेलनमा १८० जनाभन्दा बढी डेलिगेट्सहरू पठाउनेछ ।

चलखेल गरेर कुमार पन्तका समर्थकहरूलाई मात्रै डेलिगेट्स सूचीमा पार्ने एकसूत्रीय अभियानमा महासचिव डा.केसी लण्डन उत्रेको स्रोतले जनाएको छ ।

अर्को पक्षले भने डा.केसीका सबै गतिविधि नजिकबाट नियाली रहेको जनाएको छ ।

‘युकेमा गत १४ सेप्टेम्बरको चुनावको विवाद अझै सकिएको छैन’, स्रोतले भन्यो, ‘एक समूहका साथीहरूले अझै सपथ लिनु भएको छैन । बेलायतका अग्रजहरूले सहमतिका लागि निरन्तर प्रयास गरिरहँदा यसलाई विवादमा पारेर हस्तक्षेप गर्न खोज्नु दुर्भाग्यपूर्ण छ ।’

डा.केसीको भ्रमणले विवाद चरम सीमामा पुराउने निश्चित छ ।

युकेकी नवनिर्वाचित अध्यक्ष पुनम गुरुङका समर्थकहरू पनि डा.केसीको भ्रमणबाट सशंकित बनेका छन् ।

केन्द्रको राजनीति युकेमा घुसाउँदा पुनम गुरुङ विवादमा पर्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् ।

एनआरएन युकेका एकजना अग्रजले सुटकेस बोकेर डेलिगेट्स लिस्टमा धांधली गर्न खोजे महासचिव डा.केसीविरुद्ध सप्रमाण केन्द्रमा उजुरी गर्ने चेतावनी दिएका छन् ।

डा.केसी मात्रै हैन, एनआरएनलाई सिन्डिकेटको रुपमा चलाउन खोज्ने समूहलाई हराएर कडा जवाफ दिन एनआरएन युकेका सबै अग्रजहरू र डेलिगेट्सहरू एकजुट हुनुपर्ने उनको भनाइ छ ।

रुस निवासी डा.बद्री केसीको यस्तो चलखेलले ‘तँ त साह्रै बिग्रिस नि बद्री’ भन्ने चलचित्रको सम्झना दिलाएको एनआरएन वृत्तमा चर्चा चलेको छ ।

Published : Friday, 2019 September 27, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया