कम्युनिस्ट व्यवस्था ल्याउन कांग्रेसले दिँदैनः बालकृष्ण खाँण

भरतपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक व्यवस्थामाथि प्रहार गरिरहेको आरोप लगाएका छन् ।

चितवनको भरतपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा खाँणले संघीय लोकतान्त्रिक गणतन्त्र माथिनै प्रहार हुनेगरी खड्गप्रसाद ओली नेतृत्वको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले प्रयत्न गरिरहेको बताए ।

‘त्यसप्रति नेपाली जनता र सबै लोकतन्त्रवादीहरूले आपत्ति जनाइरहेको उनले दाबी गरे ।

उनले चीनमा जस्तो शासन व्यवस्था नेपालमा ल्याउन नदिने पनि बताएका छन् ।

प्रमुख सचेतक खाँणले अहिलेको सरकारले नेपालमा कम्युनिष्ट व्यवस्था ल्याउन अनेक अभ्यास गरिरहेको दावी पनि गरेका छन् ।

नेपाली कांग्रेसका नेता खाँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् । उनले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताए ।

नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै नेता खाँणले चीनमा जनताले मतदान गर्न नपाउने बताए ।

सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाए । उनले चिनियाँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने धारणा राखेका छन् ।

‘संसारमा चीनको जस्तो शासन कहीं पनि छैन’, उनले भने, ‘चीनमा एकमात्र चिनियाँ कम्युनिष्ट पार्टी छ जसले लोकतन्त्रलाई कदापी स्वीकार्दैन ।’

सरकारले मिडियालाई अंकुशमा राख्न मिडिया विधेयक पास गर्न खोजेको भन्दै कांग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने खाँणले बताएका छन् ।

उनले पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने बताए । खाँणले लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली कांग्रेस रहेको बताएका छन् ।

नेपाली कांग्रेसले देशव्यापीरूपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनकरूपमा सफल पारेको भन्दै नेता खाँणले अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिट्टै शुरु गरिने बताएका छन् ।

नेता खाँणले कालीगण्डकी डाइभर्सन गरेर सबै पानी तिनाउमा लान नखोजेको भन्दै यसले प्रभाव पार्ने नपार्ने विषयमा अध्ययन भइरहेको बताएका छन् ।

प्राकृतिक स्रोत भएका ठाउँबाट नभएका ठाउँमा लैजानु सामान्य भए पनि त्यसले प्रभाव पार्ने देखिएमा विचार गर्नुपर्ने उनको भनाइ थियो ।

Published : Wednesday, 2019 September 25, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया