कम्युनिस्ट भनेका फटाहा हुन्, भोट रुखमा हाल्नुस्ः पौडेल

घोराही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरू भनेका फटाहा भएको बताएका छन् ।

दाङको घोराहीमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले जनतालाई झुक्काएर कुनै पनि काम नगर्नेहरू भनेका कम्युनिस्ट भएको बताए ।

‘कम्युनिस्ट भनेका फटाहा हुन्’, पौडेलले भनेका छन्, ‘उनीहरूले कांग्रेससँग सामना गर्न सक्दैनन् । कांग्रेसको अगाडि कम्युनिस्टहरूको मनोबल गिर्छ ।’

एमाले र माओवादीले जनतालाई भ्रममा पारेर शब्द जालमा अलमलाएर झण्डै दुईतिहाइको मत ल्याएको पौडेलले आरोप लगाए ।

पौडेलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चिनियाँ राष्ट्रपतिको विचार नेपालमा ल्याने भनेर तालिम गराउन चीनबाट मान्छे झिकाएको बताएका छन् ।

‘सीवाद चलेको छ । चीनको वाद नेपालमा भित्र्याइँदै छ’, उनले भने, ‘तालिम गराउन चीनबाट मान्छे ल्याएर आएका छन् । कहिले मार्क्स, लेनिन, माओवाद, जबज, प्रचण्ड पथ भन्दै शब्द जाल थोपरेर जनतालाई भ्रममा पार्ने काम भएको छ । नेकपाका नेताहरू कुन सिद्धान्त मान्ने भनेर आफै कन्फ्युजनमा छन् ।’

वरिष्ठ नेता पौडेलले उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई कुनै पनि हालतमा विजयी गराउन निर्देशन दिएका छन् । ‘कम्युनिस्टहरूले हार स्वीकार गरिसकेका छन्’, उनले भने, ‘धेरै ठाउँमा जित्न सुरु भएको छ ।’

‘कांग्रेस हुँ भन्नेले रुखमा भोट हाल्नु पर्छ । माथि ठूला नेतालाई धारे हात हान्ने । निर्वाचनका बेला कांग्रेसको उम्मेदवार हराउन सूर्यमा भोट हाल्ने’, उनले भने, ‘कार्यकर्तालाई पनि चुनौती दिन चाहन्छु । कार्यकर्ताले नेताको मूल्यांकन गर्न सक्छन् कि सक्दैनन् । जो उम्मेदवार भएपनि भोट रुखमा हाल्नुपर्छ ।’

नेता पौडेलले जित्नेलाई टिकटका लागि सिफारिस गर्न सबैलाई आग्रह गरेका छन् ।

दुईतिहाइको बलियो कमयुनिस्ट सरकारले पक्षपातको शासन गरेको आरोप लगाएका छन् । ‘राज्यको ढुकुटी कार्यकर्ता पोस्न काम भएको छ’, उनले भने, ‘जनताले चर्को भार व्यहोर्नु परेको छ । महँगी बढेको छ । यति चाँढै कसरी कम्युनिस्टहरू उदाङगो भए भनेर प्रश्न उब्जिएको छ ।

‘कम्युनिस्टसँग वैचारिक र सैद्धान्तिक स्पष्टता छैन । कम्युनिस्टहरू यो देशबाट असफल भएका छन्’, उनले भने, ‘कम्युनिस्टको व्यवहारिक ज्ञानले जनताको जीवनमा कम्युनिजमले समाधान नहुँने बताएका छन् ।

कम्युनिस्टहरूको कम्युनिजमलाई मान्छेले नै बुझेको बताए । उनले कम्युनिस्टका नेताहरू आफै भुलभुलैयामा रहेपछि कार्यकर्ता पनि त्यस्तै भएको बताए ।

दाङमा कम्युनिस्टहरूले कति ठूलो पड्यन्त्र गरेका छन् भन्ने कुरा आफूलाई थाहा भएको नेता पौडेलले बताए ।

रोल्पा जिल्लामा पनि नेकपा र माओवादीले कांग्रेसका कार्यकर्तालाई यताना दिएको उनले बताएका छन् । उनले भने, ‘कम्युनिस्तहरूको बोली र बचनको ठेगान छैन । जेपनि बोल्छन् ।’

Published : Wednesday, 2019 September 25, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया