पर्यटकहरूलाई सुरक्षा दिन आइजीपीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिजिट नेपाललाई लक्षित गर्दै भ्रमणमा आएका पर्यटकहरूको सुरक्षामा कुनै किसिमको त्रुटि नहुने गरी पर्यटक प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने बताएका छन् ।

पर्यटक प्रहरी इकाई भृकुटीमण्डपमा बुधबार पर्यटक प्रहरी इकाईहरूमा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले पर्यटनकको सुरक्षामा जोड दिएका हुन् ।

खनालले पर्यटक प्रहरीले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने भएकोले पर्यटक प्रहरीको व्यवहार, बोली, वचन, पोशाक लगायत नमूना योग्य हुनुपर्ने बताए ।

पर्यटक प्रहरीले पर्यटनसँग सम्बन्धित निकायहरू पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयसँग थप समन्वय गरेर काम गर्नुपर्ने उनले बताए ।

‘पर्यटक प्रहरीले समस्यामा परेका पर्यटकलाई जति छिटो सहयोग गर्न सक्छ, त्यसले नै प्रहरी र राष्ट्रको छवि राम्रो बन्छ’, उनले बताए ।

समुदाय–प्रहरी साझेदारी अवधारणा अनुसार समुदायसँग पनि समन्वय गरेर पर्यटक प्रहरीले उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

प्रहरी महानिरीक्षक खनालले पर्यटक प्रहरीले पर्यटकलाई सकारात्मक प्रभाव पार्ने गरी आ–आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।

पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले उक्त इकाईले संचालन गर्दै आएका कार्य र कार्ययोजना लगायतका विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारी र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2019 September 25, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया