उपनिर्वाचन कांग्रेसले जित्छः विश्वप्रकाश शर्मा

धरान । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनमुखी काम नगरे दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसको जागरण अभियानको समापन कार्यक्रमलाई मंगलबार धरानमा सम्बोधन गर्दै शर्माले कम्युनिस्ट सरकारले जनताको कुरा नसुने आन्दोलन गरेर हटाउने बताए ।

उनले ओली प्रधानमन्त्री भएपछि भ्रष्टचार बढेको र सरकारका हरेक निकायमा राजनीति हस्तक्षेप बढेको भन्दै आरोप लगाएका छन् ।

‘सरकारका हरेक क्रियाकलाप अमर्यादित, असंभव र आर्थिक अनियमितताका घटनामा मात्र केन्द्रित भएको छ’, शर्माले भने, ‘आन्दोलनबाटै सरकारलाई ठेगाना लगाउँछौं । सदन र सडकमा कांग्रेस छ भनेर हेक्का राख्न नबिर्सनु ।’

प्रवक्ता शर्माले भूमिगत आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सरकारलाई तत्काल वार्तामा बोलाएर समस्या समाधान गर्न समेत आग्रह गरे ।

उनले सबै कम्युनिस्टको एकीकरण अभियान शुरू गरेका प्रधानमन्त्री खड्गप्रसाद ओली र प्रचण्ड तथा विप्लवसँग वार्ता गर्न ढिला नगर्न आग्रह गरे ।

शर्माले विप्लवको चन्दा आतंक र बम विस्फोटका घटना गलत भएको दावी गरेका छन् ।

उनले विप्लवलाई वार्ताका लागि तयारी हुन र सरकारलाई वार्ताको वातावरण बनाउन समेत आग्रह गरेका छन् ।

शर्माले सीके राउतलाई समेत शान्ति प्रक्रियामा ल्याउन सफल भएका प्रधानमन्त्री ओली र प्रचण्ड विप्लवसँग वार्ता गर्न असफल भएको आरोप लगाएका छन् ।

प्रवक्ता शर्माले प्रधानमन्त्री ओली नेतृत्वको दुईतिहाई सरकारको वितृष्णको दवाई कांग्रेस मात्र भएको बताए ।

उनले भने, ‘कांग्रेसले लामो समय शासन गर्दा पनि विकास नगरेको भन्दै आरोप लगाउँदै हिँड्ने ओली नेतृत्वको सरकारको दुई वर्ष वित्न नपाउँदै वाक्क भएका जनता विकल्पको खोजिमा छन् । अबको निर्वाचनमा कांग्रेसलाई जनताको पूर्ण साथ मिल्नेछ ।’

प्रवक्ता शर्माले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानलगायतका सबै स्थानमा कांग्रेसले बहुमतले विजयी हाँसिल गर्ने दावी गरेका छन् । जागरण अभियानले कांग्रेसलाई जनतासँग नजिक हुने मौका मिलेको उनले बताए ।

Published : Wednesday, 2019 September 25, 1:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया