नालायकलाई तरुण दलमा बस्ने अधिकार छैनः जितजंग बस्नेत

ललितपुर । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले संगठनको हित र विधान विपरितका क्रियाकलाप गर्नेलाई कारबाही गरिसकिएको भन्दै नालायकहरूलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस ललितपुरले लगनखेलमा मंगलबार राखेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले पार्टीमाथि औँला ठड्याउने नालायकलाई कारबाही गरिएको बताए ।

‘तरुण दलभित्र अनुशासनहीनताको कुराहरू पनि उठे । जो मान्छेले अनुशासनहीनताको कुरा गर्छ’, उनले भनेका छन्, ‘पार्टीमाथि औँला ठड्याउन खोज्छ । पार्टीले गरेका कार्यक्रमहरूलाई औचित्यहीन र नौटंकी भन्छ त्योे व्यक्ति पार्टीमा बस्न लायक छैन ।’

‘त्यसैले हामीले त्यस्ता व्यक्तिलाई कारबाही गरिसकेका छौँ । अगाडि बढिसकेका छौँ’, अध्यक्ष बस्नेतले बताएका छन् ।

अध्यक्ष बस्नेतले भुपेन्द्रजंग शाहीप्रति लक्षित गरेर पार्टीको कार्यक्रमलाई नौटंक भन्नेहरूलाई तरुण दलभित्र कुनै पनि ठाउँ नरहेको बताएका हुन् ।

तरुण दलका अध्यक्ष बस्नेतले कमिशनको चक्करमा प्रचण्डकी बुहारीले मेलम्ची खानेपानीको काम रोकेको आरोप लगाए ।

‘कमिशन खाना प्रचण्डकी बुहारीले मेलम्चीको काम रोकेको हो’, उनले भने, ‘यो कम्युनिस्ट सरकार काण्डै काण्डमा फसेको छ । मेलम्ची ल्याउन सक्दैन । त्यसका लागि कांग्रेस नै चाहिने भएको छ ।’

निर्मला पन्त प्रकरणमा गृहमन्त्रीका छोराको डिएनए परीक्षणका लागि अध्यक्ष बस्नेतले माग गरेका छन् । छोरालाई बचाउन गृहमन्त्रीले निर्मला पन्तका दोषीलाई उन्मुक्ति दिएको उनले आरोप लगाए ।

कम्युनिस्टहरूले जित्दा रुन पनि पाइँदैन भनेर सभापति शेरबहादुर देउवाले भन्दा हाँसेर खिल्ली उडाएको बताएका अध्यक्ष बस्नेतले भने, ‘अहिले कम्युनिस्ट अधिनायकवाद ल्याउन खोजिएको छ । आफैले मतदान गरेको सरकारले जनताको काम गरेको छैन ।’

Published : Tuesday, 2019 September 24, 11:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया