राजनीतिक अभिष्टको आन्दोलनमा नलाग्न सीएमसीकाे आग्रह, धुन्दुकारीहरूकाे भण्डाफाेर

भरतपुर । चितवन मेडिकल कलेज (सीएमसी)का विद्यार्थीले गरेको आन्दोलनलाई कलेज प्रशासनले राजनीतिक अभिष्ट पूरा गर्न कसैले चलाएको गतिविधि भनेर टिप्पणी गरेको छ ।

मेडिकल कलेज प्रशासनले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरेर कलेज तहबाट पूरा हुनुपर्ने माग पूरा भइसकेको जनाएको हो ।

सरकारले तोकेको भन्दा विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता हुनुपर्ने लगायतका माग राखेर विद्यार्थीले आन्दोलन चलाएका छन् ।

‘विद्यार्थीले राखेको मध्य कलेजको शिक्षण अस्पतालमा इन्टर्नसीप गर्ने चिकित्सकहरूको तलबको विषय हामीले साउन १ गते नै पूरा गरेको हो’, कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले भनेका छन् ।

इन्टर्न गर्ने विद्यार्थी चिकित्सकलाई १२ हजार रुपियाँ मासिक पारिश्रमिक दिँदै आएकोमा साउन १ गतेबाट पाँच सय रुपियाँ बढाएको उनले जनाएका छन् । ती बाहेक अरु माग कलेज तहबाट पूरा गर्न नसक्ने उनले बताए ।

कलेजमा अध्ययनरत विद्यार्थीले सरकारले तोकेको भन्दा २० लाख रुपियाँसम्म बढी शुल्क तिर्नु परेको बताउने गरेका छन् ।

उनीहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क कलेजले एक महिनाभित्र फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

चितवन मेडिकल कलेजका विद्यार्थी भदौ १५ गतेबाटै सडक संघर्षमा छन् ।

भदौ ५ बाटै आन्दोलनको तयारी शुरू भएको थियो । सोही दिनदेखि पढाइ प्रभावित हुँदै आएको छ ।

भदौ २७ गते कलेज प्रशासनले नै सूचना निकालेर सम्पूर्ण शिक्षण कार्यक्रम बन्द भएको घोषणा गरेको छ ।

अतिरिक्त शुल्क लिने गरेको विद्यार्थीको भनाइलाई कलेज प्रशासनले पूर्ण रुपमा अस्वीकार भने गरेको छैन ।

एमबीबीएस तहको अध्ययनका लागि उपत्यकाका बाहिरका निजी कलेजले ४२ लाख ४५ हजार रुपैयाँ लिन पाउने नियम छ ।

यसमा ६ लाख रुपियाँ अतिरिक्त शुल्क लिएको देवकोटाले स्वीकार गरेका छन् ।

‘४२ लाख ४५ हजार रुपियाँ एमबीबीएसको शिक्षण शुल्क मात्रै हो’, चितवन मेडिकल कलेज प्रशासनले भनेको छ, ‘शिक्षण शुल्कमा हामीले कुनै बढी रकम लिएका छैनौं ।’

‘छात्रावास, फिल्ड भ्रमण, सूचना प्रविधि, पुस्तकालय, आन्तरिक परीक्षा शुल्क लगायतका शीर्षकमा ६ लाख रुपियाँसम्म बढी लिएका छौं’, देवकोटाले भनेका छन् ।

यो विषयमा सरकारले दिने निर्देशन मान्न आफूहरू तयार रहेको उनले बताए ।

‘शुल्क सम्बन्धी यो विवादमा सरकारले गठन गरेको संसदीय उपसमितिले बुझाएको प्रतिवेदन, शिक्षा मन्त्रालय र त्रिविबाट आउने नीति नियम र निर्देशनको पालना गर्न कलेज प्रशासन तयार छ’, देवकोटाले भनेका छन् ।

विद्यार्थीले राखेको माग सरकारसँग सम्बन्धित भएको उनले बताए । यस्तो विषयमा चितवन मेडिकल कलेजलाई मात्रै दुःख दिने काम आफैंमा न्यायोचित नभएको उनको भनाइ छ ।

‘चितवन मेडिकल कलेजलाई मात्रै लक्षित गरेर जेहेन्दार तथा नियमित अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रयोग गरी कसैका राजनीतिक अभिष्ट पूरा गर्न, राजनैतिक रुपमा स्थापित हुन भर्‍याङ बनाउने र नितान्त दुःख दिने हिसावले विषयवस्तु आएका छन्’, प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो आन्दोलनको संयोजक कलेजका विद्यार्थी प्रकाश चन्द हुन् । प्रकाश चन्द प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दका छोरा हुन् ।

कलेजको विज्ञप्तिमा उल्लेख भएको विद्यार्थी आन्दोलनलाई राजनैतिक भर्‍याङ बनाउन खोजेको भन्ने आरोप प्रकाशप्रति लक्षित छ ।

कलेज प्रशासनको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अनावश्यक स्वार्थ समूहको राजनैतिक उद्देश्यलाई सचेत विद्यार्थीको मागभित्र घुसाउन नदिऔं ।’

Published : Wednesday, 2019 September 18, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया