रामहरि खतिवडाले कांग्रेसमा भित्र्याए ओली–दाहालका थुप्रै नेता कार्यकर्ता

बलखु । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तरगत ओखलढुंगामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

ओखलढुंगा जिल्लाको बलखु सुनकोसी गाउँपालिकाको वडा नम्बर २ मा मंगलबार आयोजित कार्यक्रममा नेकपा स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसासद रामहरि खतिवडाले पार्टीमा भित्र्याएका हुन् ।

नेकपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूमा मेखबहादुर तमाङ, सुब्बासिंह तामाङ, टपेन्द्र तामाङ, पदमबहादुर तामाङ लगायत थुप्रै नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको ओखलढुंगा कांग्रेसका सभापति प्रदीप सुनुवारले जानकारी दिए ।

नेकपा छाडेर नेपाली कांग्रेस प्रवेश गरेकाहरूले कम्युनिस्टहरूले झुठको खेती गर्ने गरेको भन्दै यस्ता गलत कुराको पछाडि अब आफूहरू कहिल्यै नलाग्ने बताएका छन् ।

उनीहरूले आफूले जिताएर पठाएको जनतप्रतिनिधि जिल्लामा मुख पनि देखाउन नआएको भन्दै जनताको समस्यालाई समाधान गर्नेतिर कुनै पनि पहल नगरिएको बताए । नेपाली कांग्रेस ओखलढुंगा जिल्लामा पराजित भएर पनि जनताका काम गरेको भन्दै उनीहरूले कांग्रेस नेताहरूको प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाले कांग्रेसले मात्रै जनताका कुरा बुझ्न सक्ने बताए । उनले कांग्रेसले कम्युनिस्टले जस्तो धेरै गफ नगरेर जनताको काम गर्ने पार्टी भएको बताए ।

आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जनताले न्याय गर्ने उनले बताए । ‘कम्युनिस्टहरूबाट जनता दिक्क भएका छन् । कुनै पनि काम हुन सकेको छैन’, खतिवडाले भने, ‘कम्युनिस्ट पार्टीका नेताहरूले अहिले देश लुट्न लागेका छन् । जनताका समस्यालाई थन्काएर कसरी कमाइ गर्न पाइन्छ भनेर लागेका छन् ।’

नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानले पार्टीलाई ठूलो सहयोग मिल्ने उनले बताए ।

Published : Wednesday, 2019 September 18, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया