विद्यार्थी र कलेजको विवाद सुल्झाउन विश्वप्रकाशको माग

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चितवन मेडिकल कलेजले विद्यार्थीसँग तोकेको भन्दा धेरै शुल्क लिएकोमा तत्काल समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।

प्रवक्ता शर्माले मंगलबार ट्वीट गर्दै शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक विद्रोहसँग नजोड्न आग्रह गरेका छन् । ‘शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक विद्रोहसँग तार नजोड, तत्काल समाधान खोज’, उनले भनेका छन् ।

तोकेभन्दा बढी शुल्क बुझाउन दबाब दिने र अभिभावकलाई फोन गरेर तनाव दिने भएपछि विद्यार्थीले शान्तिपूर्ण आन्दोलन गरेको उनको भनाइ छ ।

‘तोकेभन्दा बढी शुल्क बुझाउन दबाब दिने, अभिभावकलाई तनाव दिने, सरकार गुहार्दा ध्यान नदिने ?’, शर्माले ट्वीटमा लेखेका छन्, ‘तब विद्यार्थी आन्दोलनमा नगएर तीर्थयात्रामा जान्छन् र प्रधानमन्त्रीज्यू ?’

दुई सातादेखि चितवन मेडिकल कलेज विद्यार्थी आन्दोलनका कारण ठप्प छ । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएपछि विद्यार्थी आन्दोलनरत छन् ।

Published : Tuesday, 2019 September 17, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया