डरायो बलियो कम्युनिस्ट सरकार, त्यसपछि सिंहदरबारभित्र लाग्यो नारा

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुनर्बहाली गर्न माग गर्दै सिंहदरबारमा धर्ना दिएका पत्रकार महासंघका पदाधिकारी र पत्रकारहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुनर्बहाली गर्न माग गर्दै रेडियो नेपाल पुगेका नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, क्षेत्रीय प्रसारण कार्यालय डोटीबाट निष्कासित पत्रकार प्रकाश बम, चक्र कुँवर दिलिप पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरी उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका पत्रकारहरूलाई केही समयपछि रिहाइ गरिएको थियो ।

निष्कासन गरिएका पत्रकारको पुनर्बहाली तथा श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिकको कार्यान्वयन हुनुपर्ने माग गर्दै महासंघ सचिव रामप्रसाद दाहालको नेतृत्वमा पत्रकारहरूले सिंहदरबारमा धर्ना दिएका थिए ।

पत्रकारहरूको पुनर्बहालीका लागि वार्ता तथा छलफलका लागि गएको पत्रकार नेतृत्व टोलीलाई नै प्रहरी लगाई पक्राउ गरिएको घट्नाप्रति नेपाल प्रेस युनियन खेद प्रकट गरेको छ ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार पत्रकारहरूसँग डाराएको प्रतिक्रिया दिएका छन् ।

‘यो कम्युनिस्ट सरकार पत्रकारहरूसँग डराएको छ । वार्ताका लागि बोलाएर पक्राउ गरिएको छ’, उनले भने, ‘यो दुईतिहाइको बलियो सरकार डराएको देखेर हामी छक्क परेका छौँ ।’

उनले निस्काशन गरिएका पत्रकारहरूलाई पुनर्बहाली गर्न माग गरेका छन् ।

Published : Tuesday, 2019 September 17, 11:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया