बाँके घटनाका दोषी नेकपाका कार्यकर्तालाई कारबाही होस्ः अनिता देवकोटा

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले बाँके घटनामा संलग्न उछृङ्खल गतिविधि गर्ने दोषीलाई कारबाही गर्न माग गरेकी छिन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा शुरुमै समय लिएर सांसद देवकोटाले बाँके घटनाका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्तालाई छिटोभन्दा छिटो कारबाही गर्न माग गरिन् ।

‘बालुवाटारमा आइतबार साँझ नेपाली कांग्रेस र प्रधानमन्त्रीसहित नेकपाका नेताहरूको बैठक बसेर नेपाली कांग्रेसले बाँकेमा दिएको किटानी जाहेर दर्ता गर्ने सहमति भएको छ’, उनले भनिन्, ‘बाँके घटनामा जो संलग्न भएपनि कारकाही गर्नुपर्छ ।’

नेपाली कांग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानमा सत्तारुढ नेकपाका नेता एवम् वडाध्यक्षको निर्देशनमा बाँके कांग्रेसका सभापतिको हात भाँच्चिने गरेर आक्रमण भएको उनले बताइन् । सांसद देवकोटाले दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने बताइन ।

सांसद देवकोटाले नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक बाँके घटनालाई लिएर अबरोध नगर्ने बताइन् । तर, दोषीलाई कारबाही गर्न आलटाल गरियो भने स्थिति असहज हुन सक्ने उनले चेतावनी पनि दिएकी छिन् ।

नेपाली कांग्रेसले बाँके घटनालाई लिए आइतबारको राष्ट्रिय साभको बैठक अबरुद्ध गरेको थियो ।

Published : Monday, 2019 September 16, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया