कांग्रेस कुटेको हेर्ने प्रहरीको नाम नेकपा राखौँः डा.अमरेश सिंह

काठमाडौं । नेपाली कांग्रेसका सांसदले डा.अमरेशकुमार सिंहले शान्ति सुरक्षा कायम गर्ने सवालमा नेपाल प्रहरीको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका छन् ।

संसदको आइतवार बसेको बैठकमा बोल्दै कांग्रेसका सांसद डा.सिंहले प्रहरीको भूमिकाबारे प्रश्न उठाएका हुन् ।

डा.सिंहले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता प्रहरीकै अगाडि कुटिँदा पनि प्रहरी रमिते बनेको आरोप लगाएका छन् । सत्तारुढ नेकपाले प्रहरीलाई दुरुपयाेग गरेकाे बताए ।

उनले भदौ २६ गते बाँकेको खजुरामा कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाट भएको आक्रमणका क्रममा घटनास्थलमै रहेको प्रहरीले केही गर्न नसकेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

उनले नेपाल प्रहरीको नामसमेत फेर्नुपर्ने भन्दै नेकपा प्रहरी राख्न सुझाव दिएका छन् ।

‘नेपाल प्रहरीको नाम अब नेकपा प्रहरी राखौँ’, उनले भने, ‘घटनास्थलमा प्रहरी हुँदा पनि आक्रमण रोक्न पहल गरेन । राजनीतिक निर्देशनमा यो घटना भएको हो ।’

बाँके घटनामा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेपछि कांग्रेसले संसद अबरुद्ध गरेको छ ।

Published : Sunday, 2019 September 15, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया