कांग्रेसका नेता घर्ती एनआरएनएको युवा संयोजकमा उम्मेदवार

लिस्बन । गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् युवा संयोजक पदका लागि पोर्चुगलबाट बागलुङका येमेन्द्रकुमार घर्तीले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेस निकटका घर्तीले संयोजक पदमा सहयोग गर्न अपील गरेका छन् ।

गैह्र आवासीय नेपाली संघ पोर्चुगल शाखाका सचिव रहेका घर्ती युवाहरूको हितमा काम गर्नेभन्दै उम्मेदवारी शनिवार पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

हक्की स्वभावका घर्तीले आफू विजयी भएपछि संस्थागत गतिविधिलाई पारदर्शी बनाउने, युवा र श्रमिक वर्गलाई संस्थाप्रति आकर्षित गर्ने, दोश्रो पुस्ताका नेपालीहरूलाई पनि संस्थाको महत्वबारे सचेतना फैलाउने र गैह्र आवासीय नेपाली नागरिकताबारे संविधानमा उल्लेख भए बमोजिमको ऐन बनाउन दवाव दिने प्रतिवद्धता जाहेर गरेका छन् ।

२० वर्षदेखि वैदेशिक रोजगारमा रहेका उनी ६ वर्ष जापान बसेका थिए ।

तेह्र महिना अगाडि पोर्तुगल आएका उनले अन्तर्राष्ट्रियस्तरमा थुप्रै साथीहरूको सल्लाह र परामर्शमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताएका छन् ।

जापानमा उनले एनआरएनए बाहेक नेपाली जनसम्पर्क समिति र नेपाली सेवा समाज जापानको महासचिव पदमा रहेर काम गरेका थिए ।

जापानमा रहेका घर्तीका समर्थक रेशम पुनका अनुसार एशिया प्यासिफिक, युरोप र अमेरिकाका एनआरएनए अभियन्ताहरूबाट सहयोग हुने आश्वासन प्राप्त भएको छ ।

घर्तीले सबैतिर घनिभुत छलफल र समन्वयका लागि उच्चतम प्रयास गरिएकोले विजय सुनिश्चित रहेको दावी गरेका छन् ।

उनले मध्यपूर्व र ओसेनिया क्षेत्रमा पनि समर्थन जुटाउन प्रयास भाइरहेको बताएका छन् ।

नेपाली कांग्रेसको एघारौ महाधिवेशनमा बागलुङ जिल्ला क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएका थिए ।

विक्रम संवत २०५४ मा नेपाल विद्यार्थी संघ जिल्ला समिति बागलुङको उपाध्यक्ष रहेका घर्तीले बागलुङ कांग्रेसको जिल्ला समितिको सदस्यको राजनीतिक अनुभव पनि संगालेका छन् ।

सिसाखानी बागलुङ घर भएका घर्ती नेपालमा छँदा युवा अनुसन्धान केन्द्र नामक गैह्र सरकारी संस्थाको अध्यक्ष भएर काम गरेका थिए ।

Published : Sunday, 2019 September 15, 1:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया