देउवालाई देखेपछि बाँके कांग्रेसको मनोबल बढ्यो, अरिँगालहरू डराए

नेपालगज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारबाही नहुँदासम्म निरन्तर दबाव दिने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेको कार्यालयमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले भने, ‘बाँके घटनाका दोषीलाई प्रहरीले अविलम्व कानूनी दायरामा ल्याओस्, होइन नत्र सदन चल्न दिँदैनौं ।’

देउवाले कम्युनिष्टले कांग्रेस कार्यकर्तामाथि आक्रमण गर्दा प्रहरी, प्रशासन रमिते बनेको बताए ।

‘जनताको कर तिरेको पैसाबाट तलब खाएको पुलिस र सिडिओले शान्ति सुरक्षा दिने हो, सत्ता पक्षका गुण्डाको संरक्षण गर्ने होइन’, उनले भने, ‘बाँकेमा भएको घटनामा प्रहरी प्रशासनले शान्ति सुरक्षाको न्युनतम दायित्व पनि पूरा गरेको देखिएन ।’

आफ्नो पार्टीको राष्ट्रिय जनजागरण कार्यक्रम भाँड्ने र जिल्ला सभापति लगायत कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही नहुँदासम्म आन्दोलन जारी राख्ने देउवाले चेतावनी दिएका छन् ।

संविधान अनुसार बनेका पार्टी र आम जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने काममा लाग्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

कम्युनिष्ट सरकारले जताततै भ्रष्टाचार गरिरहेको बताउँदै देउवाले भने, ‘जताततै भ्रष्टाचार मात्र भइरहेको छ, अनि जनताले भ्रष्टाचार विरुद्ध बोल्न नपाउने ?’

देश अहिले निकै अप्ठ्यारो परिस्थितीमा गुज्रिरहेको उनको भनाई छ । कम्युनिष्ट सरकारले गरेका काम देखेर नेपाली जनता वाक्क भईसकेको सभापति देउवाले बताएका छन् ।

कम्युनिष्ट पार्टीको अराजकताले जनताले निर्धक्कसँग बोल्न डराइरहेको भन्दै उनले संबिधानले सबै नागरिकलाई स्वतन्त्रतापूर्वक बोल्न पाउने अधिकार दिएको बताए ।

भ्रष्टाचार विरुद्ध आवाज उठाएकै कारण पार्टीको बाँकेमा आयोजित जनजागरण अभियान कार्यक्रममा कम्युनिष्ट कार्यकर्ताले आक्रमण गरेको देउवाले बताए ।

उनले कार्यकर्तालाई कम्युनिष्ट सरकारले गरेका भ्रष्टाचार विरुद्ध आवाज उठाउन आब्हान पनि गरेका छन् ।

सो क्रममा बोल्ने अधिकांस कांग्रेस कार्यकर्ताले कम्युनिष्ट अराजकताका कारण पार्टीको जनजागरण कार्यक्रम गर्न सहज नभएको गुनासो गरेका थिए ।

प्रहरी, प्रशासनबाट शान्ति सुरक्षा पाउनेमा ढुक्क हुने स्थिती नरहेको उनीहरूको भनाई थियो ।

नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले कम्युनिष्टको अराजकताबाट कांग्रेस कार्यकर्ताहरू अहिले पनि त्रसित अवस्थामा रहेको बताइन् ।

कार्यकर्तालाई सम्बोधन गर्नुअघि सभापति कोइरालाले नेपालगन्जस्थित विपी चोकमा शनिबार दिउँसै दीप प्रज्वलन गरेका थिए ।

बाँकेको सितापुरमा भएको घटनामा न्यायका लागि अन्धकारमा रहेको सरकारलाई आँखा देखाउन ब्यंग्यात्मक रुपमा दीप प्रज्वलन गरिएको कांग्रेस बाँकेले जनाएको छ ।

दाङबाट बाँके आउने क्रममा सभापति देउवाले शनिबार नै कोहलपुरमा आयोजित कार्यकर्ता भेलालाई पनि सम्बोधन गर्दै कम्युनिष्ट सरकार र उसका कार्यकर्ताले अराजकता प्रर्दशन गरिरहेको बताएका थिए ।

उनले उच्च मनोबलका साथ पार्टीको जनजागरण कार्यक्रममा लाग्न र कम्युनिष्ट सरकारले गरेका भ्रष्टाचार, अनियमितता र अन्यायका विरुद्ध आवाज उठाउन कार्यकर्तालाई निर्देशन दिए ।

सभापति देउवालाई आफ्नो साथमा पाएपछि बाँके कांग्रेसभित्र खुसीयाली छाएको छ । स्थानीय नेता तथा कार्यकर्ताहरूको मनोबल उच्च बनेको कार्यक्रममा नेताहरूले बताएका छन् ।

नेकपाका अरिँगालहरू कांग्रेससँग डराएर भौतिक आक्रमणमा उत्रिएको भन्दै कांग्रेसका नेताहरूले अब आफूहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

Published : Saturday, 2019 September 14, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया