मेट्रो एफएम डुबाउने थरीथरीका कर्मचारी

काठमाडौं । मृत्यु शैय्यामा पुगेको मेट्रो एफएममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सुधार गर्न सकेका छैनन् ।

मेयर बनेर आएपछि मेयर शाक्यले सूचना विज्ञ र सीपीसी विभागअन्तर्गत झण्डै एक सय कर्मचारी भर्ना गरेको स्रोतले जनाएको छ ।

मेट्रो एफएमका पुराना र नयाँ कर्मचारीहरूले कार्यालय नै आएर महिनावारी तलव बुझ्दै आएका छन् । उनीहरूले एफएममा सिन्को पनि भाँच्दैनन् ।

काठमाडौं महानगरपालिकाले आफ्ना सूचना र सन्देशहरू सम्प्रेषण गर्नका लागि मेट्रो एफएम स्थापना गरिएको थियो । शुरुवाती दिनमा मेट्रो एफएमले राम्रो पहिचान बनाएको थियो ।

तर, विगत ८–९ वर्षदेखि मेट्रो एफएमको गतिविधि शून्य सरह छ । एफएममा हप्तामा एकदिन शक्रबार ३ः४५ बजे एक पटक मात्रै समाचार बज्ने गर्छ ।

मेट्रो एफएममा आजकाल कार्यक्रमहरू बज्दैनन् । कार्यक्रम बजिहाले पनि गीतहरू मात्रै बजाइन्छ । समाचार पनि नियमित बज्दैनन् ।

मेट्रो एफएम स्थापना भएको दुई दशक भइसकेको छ । यसलाई सुधार गरेर व्यवस्थित गर्नेतिर कसैले पनि चासो दिएका छैनन् । एफएमलाई विज्ञापन पनि नआएको थुप्रै वर्ष भइसकेको छ ।

मेट्रो एफएममा काम गर्ने पत्रकार र कर्मचारीहरू हाजिर गरेर आ–आफ्नो पेशा व्यवसाय गर्न हिँडिहाल्छन् । उनीहरू कहिल्यै पनि तोकिएको समयभित्र एफएममा भेटिदैनन् ।

एफएमको कम्युटरमा भएको गीत सधै एउटै किसिमले बजाइने गरेको एकजना कर्मचारीले बताए ।

एफएमका कर्मचारी पत्रकारहरूले बिहान र बेलुका दुई पटक आएर हाजिर गरेर तलव खाने गरेको आरोप छ ।

अधिकांश कर्मचारीहरू कोही अन्य टेलिभिजनमा कार्यरत छन् । कोही अर्को रेडियोमा कार्यरत छन् । कसैको आफ्नै कलेज र स्कुल छ ।

कसैले आफ्नै संचार गृह नै चलाएर बसेका छन् । कसैको ल फर्म छ । कसैको अडिट फर्म छ ।

कुनै पत्रकारहरू पार्टीको प्रवक्ता बनेर बसेका छन् । केही पत्रकार कर्मचारी झिनामसिना पार्टीका केन्द्रीय सदस्य छन् ।

केही कर्मचारीहरू काठमाडौं महानगरपालिकाको नाम भजाएर विदेशमा बसेर काम गर्दै आएको भन्ने आरोप छ ।

मेट्रो एफएमका कर्मचारीहरूलाई स्वयच्छिक अवकासको सिफारिस भएको थियो । समितिको सिफारिस पनि कार्यान्वयन हुन सकेको छैन ।

नयाँ मेयर आएपछि मेट्रो एफएमको हालत सुध्रिन्छ कि भन्ने धेरैलाई लागेको थियो । तर, मेयर शाक्यले नै मेट्रो एफएमलाई सुधार गर्नेतिर कुनै चासो देखाएनन् ।

Published : Friday, 2019 September 13, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया