कांग्रेस आफैले जागरण अभियानमा डेंगुबारे चेतना फैलाउने

काठमाडौं । नेपाली कांग्रेसले डेंगु रोगको संक्रमण रोक्न सरकारसँग आग्रह गर्दै जागरण अभियानमा यसको संक्रमणका बारेमा सचेतना फैलाउन अपील गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा पार्टी मुख्यालय सानेपा ललितपुरमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा डेंगुका कारण हजारौँ नागरिक प्रताडित भएको बताए ।

प्रवक्ता शर्माले डेंगुको संक्रमण रोक्न नसकेर सरकारले निर्लज्जता देखाएको बताए । ‘कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभएको छ । किरा मार्न नसक्ने यो सरकार हुतिहारा हो’, उनले भने, ‘डेंगु नियन्त्रण गर्न सबै शक्ति परिचालन गरियोस् ।’

‘डेंगुका कारण हजारौं नागरिक प्रताडित भइरहेको यो समयमा नेपाली कांग्रेसले हिपतम, जागरण अभियानकै क्रममा यस सम्बन्धी आवश्यक चेतना विस्तार गर्ने निर्णय गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘अभियानका सबै कार्यक्रमका क्रममा देशव्यापी रूपमा यो विषयलाई विशेष प्राथमिकतामा राखी सर्तकताको अपील गर्ने कार्यलाई तिव्रता दिइनेछ’, नेपाली कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले डेंगुलाई नियन्त्रण गर्न नसकेको भनेर आलोचना बढिरहेका बेला नेपाली कांग्रेसले औपचारिक रुपमा यो संक्रमणलाई रोक्न माग गरेको हो ।

साथै कांग्रेसले आफैले पनि डेंगुको संक्रमणबाट बच्न जागरण अभियानका क्रममा अपील गर्ने निर्णय पनि गरेको छ ।

Published : Friday, 2019 September 13, 4:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया