कैलालीमा भव्य रुपमा जागरण अभियानको शुरुवात, कांग्रेस एक हुन अपील

मीनाकुमारी थापा

कैलाली । नेपाली कांग्रेस कैलालीले ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रय जागरण अभियान’को दोस्रो कार्यक्रमको भव्य रुपमा शुरुवात गरेको छ ।

कैलाली क्षेत्र नम्बर १ ‘क’मा मंगलबार नेपाली कांग्रेसका नेता रामजनम चौधरी, केन्द्रीय प्रतिनिधि एवम् युवा नेता कमलकिशोर घिमिरेसहितका नेताहरूको आतिथ्यतामा जागरण अभियानको उद्घाटन गरिएको हो ।

अभियानको उद्घाटनका क्रममा १०६ ओटा वृक्षारोपण समेत गरिएको छ ।

नेपाली कांग्रेसले महामानव वीपी कोइरालाको १०६औं जन्म जयन्तीको अवसर पारेर मंगलबारदेखि देशभरि एकसाथ राष्ट्रिय जागरण अभियान शुरु गरेको छ । नेपाली कांग्रेसले असोज ७ गतेसम्म अभियान चलाउनेछ ।

जागरण अभियान कैलालीको जोशीपुर गाउँपालिकाको वडा नम्बर ५ स्थित वीपी वन बाटिकामा पनि सम्पन्न भएको छ ।

कार्यक्रमको सभापतित्व प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’का सभापति एवम् जोशीपुर गाउँपालिकाका प्रमुख रामकृष्ण चौधरीले गरेका थिए ।

केन्द्रीय प्रतिनिधि कमलकिशोर घिमिरेले मुलुकलाई समृद्ध राष्ट्र बनाउनका लागि कांग्रेस एकतावद्ध हुनुपर्ने बताए । उनले भने, ‘आजको आवश्यक्ता भनेको नेपाली कांग्रेस एक हुनु हो ।’

‘दुईतिहाइको बलियो कम्युनिस्ट सरकरको अराजकताले समाजमा ठूलो असर परेको छ’, घिमिरेले भने, ‘अब कांग्रेसलाई कम्युनिस्टहरूको निरंकुशताबाट उन्मुक्ति दिन्छ ।’

नेपाली कांग्रेसका नेता रामजनम चौधरीले कांग्रेसलाई शहरदेखि गाउँसम्म लैजानुपर्ने बताए । उनले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसको कार्यक्रममा सहभागी भएर संगठन निर्माणमा सहयोगको अपील गरे ।

कार्यक्रमका सभापति रामकृष्ण चौधरीले राष्ट्रिय जागरण अभियानलाई पूर्णरुपमा सफल बनाउनका लागि लागि आग्रह गरे ।

उनले गाउँ केन्द्रित कार्यक्रमहरू, युवा सहभागिता अभियान, शहीद एवम् जेष्ठ कांग्रेस नेता परिवार सम्मान कार्यक्रम सञ्चालन गरिने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू वीरबहादुर हमाल, महासमिति सदस्य तेजबहादुर बिष्ट, जानकी गाउँपालिका प्रमुख प्रदीप चौधरी, उपप्रमुख उमा महतो, जोशीपुर गाउँपलिकाका उपप्रमुख गीता कठरिया लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन सचिव शुभनाथ देबकोटाले गरेका थिए ।

Published : Tuesday, 2019 September 10, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया