कम्युनिस्टहरूको भ्रष्टाचारको भण्डाफोर शुरूः भुपेन्द्रजंग शाही

काठमाडौं । नेपाली तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारविरुद्ध युवा तरुणहरूले भण्डाफोर अभियान शुरू गरेको बताएका छन् ।

नेपाली कांग्रेसले मंगबारदेखि देशभरि एक साथ शुरू गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’का सन्दर्भमा प्रेस नोट जारी गर्दै महासचिव शाहीले राज्यको ढुकुटी रित्याउनेविरुद्ध भण्डाफोर अभियान शुरू गरिएको बताए ।

‘आजकै दिनदेखि सबै भ्रष्टाचारीका विरुद्ध भण्डाफोर अभियान शुरू भयो’, महासचिव शाहीले चेतावनी दिँदै भने, ‘अब सत्तारुढ कम्युनिस्टहरूले गरेका सबै खालका भ्रष्टाचारविरुरुद्ध अभियान नै चलाउँछौँ ।’

उनले भने, ‘वाइडबडी जहाज घोटाला, सुन काण्ड, एनसेलको कर काण्ड, बालुवाटारको सरकारी जग्गा काण्ड लगायतका विरुद्ध अभियान नै चलाउँछौँ ।’

‘स्थानीय, प्रदेश र केन्द्र सरकारका भ्रष्टाचारका काण्डविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन भएको छ’, उनले भने, ‘यो अभियानमा लाग्न म सबै युवा तरुणहरूलाई निर्देशन दिन्छु ।’

दुईतिहाइको कम्युनिस्ट सरकारले भ्रष्टाचारी र तस्करहरूलाई संरक्षण गरेको तरुण दलका महासचिव शाहीको आरोप छ ।

‘गलत व्यक्तिलाई काखी च्यापेर यो सरकारले संरक्षण गरेको छ’, उनले भने, ‘प्रहरी प्रशासन पनि सर्वसाधारणलाई दुःख दिएर बसेको छ । सत्तारुढ दल निकटका गतल व्यक्तिहरूलाई संरक्षण गरेको छ ।’

नेपाल तरुण दलका महासचिव शाहीले देशभरिका युवा तरुणहरूलाई कम्युनिस्ट सरकारले झुठ्ठा मुद्धा लगाएर दुःख दिने काम पनि भइरहेको बताएका छन् ।

‘युवा तरुणहरूलाई झुठ्ठा मुद्धा लगाएर दुःख दिइयो भने त्यसको परिणाम नराम्रो हुनेछ’, उनले भने, ‘ऐन, कानून र संविधान सबैका लागि बराबर हो ।’

Published : Tuesday, 2019 September 10, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया