क्यानाडामा नेपालको प्रचार गर्दै नरबहादुर टण्डन

क्यानडा । नेपालको भ्रमण वर्षलाई सफल बनाउन क्यानाडाका सिटी बसहरूमा नेपालका महत्वपूर्ण पर्यटकीय स्थलका तस्विरहरू राखेर प्रचार प्रसार शुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनको अगुवाई तथा नेपाल र क्यानाडामा रहेका विभिन्न संघ संस्थाहरूको सहकार्यमा सो अभियान थालिएको हो ।

मिसिसागाका १० वटा सार्वजनिक बसमा नेपालको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, पोखरा, नेपालकी जीवित देवी कुमारी, सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका, अपि सैपाल हिमाल लगायतका पर्यटकीय गन्तव्यस्थलहरू राखिएका छन् ।

दुई महिनासम्म मिसासागा, टोरन्टो, ब्रहामटन लगायतका सहरमा यसरी प्रचार प्रसार गरिने मानार्थ प्रतिनिधि टण्डनले बताएका छन् ।

शनिबार क्यानाडाको मिसिसागा रिभरवड पार्कमा नेपाल झल्काउने तस्विर अंकित सिटी बस ल्याई पञ्चकन्याका साथ कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मिसिसागाका सांसद दीपक आनन्दले सिटी बसको प्रचार प्रसारले नेपालको भ्रमण वर्षलाई सघाउ पुर्‍याउने बताएका छन् ।

आफू पनि भिजिट नेपाल २०२० का बीच सपरिवार नेपाल जाने उनले बताएका छन् । सांसद आनन्दले अरु क्यानाडियन पर्यटकहरूलाई पनि नेपाल जान आग्रह गरेका छन् ।

नेपाल पर्यटन बोर्डको समन्वयमा, क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मंच, टिपिएन नेपाल, गोइङ्ग नेपाल लगायतको पर्यटन प्रवर्द्धनको प्रचार प्रसार शुरु गरिएको छ ।

क्यानाडाका सार्वजनिक बसमा भिजिट नेपालको लोगोसहित सुन्दर पर्यकीय स्थलहरूको फोटो देख्दा क्यानेडियन नागरिकहरू नेपालका वारेमा सोध्न थालेको टण्डनले बताएका छन् ।

क्यानाडामा रहेका गैरआवासीय नेपालीहरूले यो अभियानको प्रशंसा गरेका छन् ।

विश्वमा नेपाल चिनाउने अभियन्ताका रुपमा चिनिने क्यानेडियन नेपाली नरबहादुर टण्डनले व्यक्तिगत रुपमा करीव १६ लाख बढी रुपियाँ खर्चेर यो अभियान थालेका हुन् ।

क्यानाडा तथा अमेरिकामा नेपाल भ्रमण वर्षको तीव्र प्रचार प्रसार गर्न टण्डनले सवैलाई अनुरोध गरेका छन् ।

Published : Monday, 2019 September 9, 1:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया