कम्युनिस्ट सरकारलाई अन्तर्राष्ट्रिय जगतले विश्वास गरेनः उदयशम्शेर राणा

नयाँ दिल्ली । नेपाली कांग्रेसका युवा नेता उदयशम्शेर राणाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा आइतबार अन्तर्राष्ट्रिय वीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पूर्व अर्थ राज्यमन्त्रीसमेत रहका राणाले सरकारले समृद्धिका ठूला नारा दिएपनि व्यवहारमा काम गर्न नसकेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको उनले बताएका छन् ।

‘जुन आशा र अपेक्षाका साथ यो सरकार बनेको थियो, त्यो अनुसार सरकारले काम गर्न सकेको छैन’, उनले भने, ‘दुई तिहाइको बलियो कम्युनिस्ट सरकार बनेपछि मुलुकमा स्थायी सरकार बन्छ । समृद्धिको बाटोमा मुलुक जाला भन्ने अपेक्षा आमनागरिकमा थियो ।’

‘कम्युनिस्ट सरकारले राम्रो काम गरोस्’, युवा नेता राणाले भने, ‘कांग्रेसले सहयोग नै गर्छ । लोकतन्त्रमाथि प्रहार गर्ने कुरा कांग्रेसलाई स्वीकार्य छैन ।’

राणाले कम्युनिष्ट सरकार बनेपछि विदेशी लगानी घट्दै गएको बताएका छन् ।

‘बलियो सरकार बनेपछि वैदेशिक लगानी बढ्नुपर्ने हो । अहिले ४० प्रतिशतले घटेको छ’, उनले भने, ‘व्यापार घाटा बढ्दो छ । मुलुकमा व्यवसाय गर्ने माहोल छैन भनेर व्यापारीहरूले गुनासो गरिरहेका छन् । यस्तो अवस्थामा समृद्धि कसरी आउँला ?’

आर्थिक समृद्धिमा जोड दिँदै नेपालले पनि छिमेकी मुलुक जस्तै विकासमा फड्को मार्ने बेला आइसकेको पूर्वअर्थराज्यमन्त्री राणाले बताएका छन् ।

Published : Monday, 2019 September 9, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया