वीपी कोइरालाको सम्झनामा हङकङमा भव्य कार्यक्रम

हङकङ । नेपाली कांग्रेसको जनसम्पर्क समिति हङकङले वीपी कोइरालाको १०६औँ जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँको प्रमुख आतिथ्यमा कविता वाचनसहितको कार्यक्रम भएको हो ।

नेपाली जनसम्पर्क समिति हङकङका सभापति मीन गुरुङले वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका शुभेच्छुकहरूले विशेष कार्यक्रम गरिएको जानकारी दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तरुण दलका उपाध्यक्ष चापागाइँले नेपाली कांग्रेसलाई देश र विदेश सबैतिर संगठित गरेर जानुपर्ने बताए । विदेशमा लाखौँ नेपालीहरू रहेको भन्दै उपाध्यक्ष चापागाइँले ती नेपालीहरूलाई नेपाली कांग्रेसमा गोलबद्ध बनाउनुपर्ने बताए ।

उपाध्यक्ष चापागाइँले वर्तमान दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले नेपाली जनतालाई गम्भीर तवरले धोका दिएको बताए । निर्वाचनमा गरिएको प्रतिवद्धता विपरितका कार्य गर्दै आएको भन्दै उनले सरकारको आलोचना गरे ।

‘निर्वाचनमा गरिएका प्रतिवद्धता विपरित अहिलेको सरकारले जनतालाई दुःख दिएको छ’, उनले भने, ‘यो सरकारले आफ्नो सक्कलि रुप जनतामाझमा छर्लङग परिसकेको छ । अब कांग्रेसले संबैधानिक ब्यबस्थाअनुसार आफ्ना ईकाइहरू र भ्रातृ तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाएर भण्डाफोर गर्नुपर्छ ।’

नेपाली कांग्रेसको नेतृत्वमा मात्रै समृद्ध नेपाल र सुखी नेपाली हुन सक्ने उनले बताएका छन् ।

नेपाल तरुण दलका उपाध्यक्ष चापागाइँले हङकङमा रहेका नेपालीहरूले पनि देशका लागि योगदान गर्दै आएको भन्दै आउँदा दिनमा झन् योगदान गर्नुपर्ने समय आउन सक्ने बताए । ‘हङकङका नेपाली दाजुभाई दिदीबहिनीहरूले अहिले पनि सहयोग र साथ दिइरहनु भएको छ’, उनले भने, ‘देशको बिग्रदो अवस्थाले गर्दा आउने दिनमा तपाईहरूको अझै खाँचो आवश्यक्ता पर्न सक्छ ।’

नेपाली जनसम्पर्क समिति हङकङका सभापति मीन गुरुङको सभापतित्वमा भएको कार्यक्रममा उल्लेख नेपालीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा हङकङ नेपाली महासंघका सभापति टंक रानासहितका सामाजिक अभियन्ताहरूको पनि उपस्थिति रहेको थियो ।

Published : Monday, 2019 September 9, 9:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया