राप्रपा (संयुक्त)ले जनकपुरधामबाट हिन्दू राष्ट्र अभियान चलाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले वर्तमान संविधानप्रति आलोचनात्मक समर्थन रहेको जनाएको छ ।

संविधान प्रदत्त अधिकार प्रयोग गर्दै देशको रक्षा र जनताको चाहना बमोजिम संवैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्रका लागि संघर्ष गर्ने सो पार्टीले घोषणा गरेको छ ।

राप्रपा (संयुक्त) को भाद्र १९ र २० गते चलेको केन्द्रीय कार्य समितिको वैठकले यही कार्यदिशा तय गरेको हो ।

राष्ट्रपति निष्पक्ष हुन सकेन, त्यसकारण आन्दोलनबाटै राजसंस्था, हिन्दू राष्ट्र पूर्नस्थापना गर्ने राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले वैठकपछि आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।

‘सबैलाई स्वीकार्य हुने राजसंस्था आजको आवश्यकता हो’, उनले भनेका छन् ।

जनताको चाहना एकाकर गर्न बृहत आन्दोलनको तयारी भइरहेको पनि राणाले जानकारी गराए ।

राप्रपा (संयुक्त) ले तिहारपछि वैदिक सनातन हिन्दू सँस्कृति संरक्षण अभियान संचालन गर्ने निर्णय गरेको छ ।

अभियान सीताको जन्मस्थल जनकपुरधामबाट आरम्भ भएर सीताको समाधिस्थल त्रिवेणीधाम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर समापन हुनेछ ।

गुठी विधेयक र रवि लामिछाने प्रकरणमा देखिएको जनताको आक्रोश यसैको ज्वलन्त उदाहरण भएको उनले बताए ।

राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताए ।

संविधानले असहमति राख्ने अधिकार दिएको छ । तर, सरकार संविधानको मर्म र भावना विपरीत धम्की र चेतावनीमा उत्रिएको छ भन्दै लोहनीले आपत्ति जनाए ।

संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको सवाललाई लिएर संविधानप्रति विमति रहेको लोहनीले प्रष्ट पारे ।

उनले ९२ प्रतिशत ओमकार समुदाय रहेको मुलुकमा हिन्दू राष्ट्र कायम हुनुपर्ने तर्क गरे ।

अध्यक्ष लोहनीले मुलुकमा भ्रष्टाचार र बेथिति बढेको, देश आर्थिक रुपमा जर्जर हुँदै गएको आरोप लगाए । ओली सरकारको गलत नीतिका कारण अर्थतन्त्र धराशयी हुने दिशामा अघि बढेको बताए ।

राप्रपा (संयुक्त) को केन्द्रीय समितिको वैठकले जनता विकल्पको खोजीमा रहेको भन्दै सम्वर्द्धनवादी राष्ट्रवादी शक्तिको स्थान खुला रहेको ठहर गरेको छ ।

वर्तमान सरकारले मुलुकको विकास र प्रगतिका लागि केही पनि गर्न नसकेको भन्ने वैठकको निष्कर्ष छ ।

समान विचारधारा भएका दल, समूह र व्यक्तिसँग एकता सहकार्य गर्ने निर्णय गरेको छ ।

Published : Saturday, 2019 September 7, 8:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया