ओलीको दैनिक उपचार खर्च वीस लाख, रामहिर खतिवडाले मागे पैसाको स्रोत

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको उपचार खर्चको विवरण माग गरेका छन् ।

युट्युब च्यानल ‘सुत्र टिभी’सँगको अन्तर्वार्तामा युवा नेता खतिवडाले प्रधानमन्त्री ओलीको खर्च विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।

‘यो सरकार पारदर्शी र जनताप्रति उत्तरदायी छ भने प्रधानमन्त्रीजीको सिंगापुरको उपचार खर्चको विवरण सार्वजनिक गर्नुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीजीले दैनिक वीस लाख रुपियाँ खर्च गरेर मिर्गौलाको उपचार गर्नुभएको छ ।’

‘सम्माननीय प्रधानमन्त्रीजी सिंगापुरमा दिनको वीस लाख रुपियाँ खर्च गरेर मिर्गौलाको उपचार गर्नुभएको छ’, खतिवडाले भनेका छन्, ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीको तलव कति छ ? उहाँले दैनिक वीस लाख खर्च गर्ने क्षमता राख्नु हुन्छ ?’

खतिवडाले प्रश्न गर्दै भनेका छन्, ‘उहाँको महिनाको तलब डेढ लाख होला । यो तलवले दैनिक वीस लाख खर्च गरेर उपचार गर्न पुग्छ ?’

खतिवडाले उपचारका लागि प्रधानमन्त्री ओलीले झापा र बालकोटको जग्गा बिक्री गर्नु भएको छ त ? भनेर प्रश्न गरेका छन् ।

‘उहाँले भन्नु पर्‍यो कि झापाको जग्गा बेचिएको छ । कि बालकोटको जग्गा बेचेको छ । बालकोटमा घरजग्गा कब्जा गरेर को बस्नु भएको छ म त्यता जाँदैन’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले प्रश्न गर्दै भनेका छन्, ‘कहाँबाट भएको छ उहाँको उपचार खर्च ? कि वाइडबडीले गरेको हो ? त्यो भन्नु पर्‍यो । कि ३३ किलो सुनले गरेको हो ? कि अरु कुनै व्यापारीले गरेको हो ?’

‘सरकारले पारदर्शी रुपमा यसलाई जनताको बीचमा प्रधानमन्त्रीको उपचारमा यति खर्च भयो वा फलनाले गर्नुभयो । मैले यति गरे भन्नु प¥यो’, उनले भने, ‘जनताले खर्चको विवरण जान्न चाहेका छन् । पारदर्शी कुरा भन्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले विदेशमा हुने आफ्नो उपचार खर्च नलिने घोषणा गरेका थिए । सिंगापुरमा मिर्गौलाको उपचार खर्च महँगो पर्छ ।

प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने तयारी गरिरहेका बेला नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाले सिंगापुरको उपचार खर्च माग गरेर तरंग ल्याइदिएका छन् ।

Published : Thursday, 2019 September 5, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया