नेपाल हिन्दूराष्ट्र हुन्छ कसरी ?

किरण गिरी

संविधान सभाले घोषणा गरेको नेपालको संविधान २०७२ ले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि नेपालका बहुसंख्यक हिन्दु धर्मावलम्बीहरूलाई चोट पुग्नु स्वाभाविक थियो । मुलुकका प्रमुख राजनीतिक दलहरू संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा गएपछि मुलुक धर्मनिरपेक्ष हुनु स्वाभाविकै थियो ।

संविधान सभामा तत्कालीन राप्रपा (नेपाल) र राप्रपाले नेपाल हिन्दूराष्ट्र हुनु पर्दछ भन्ने प्रस्ताव दर्ता गराएकै हुन् । संविधान सभाको ६०१ सिटमा दुबै राप्रपाको ३७ सिट निर्णायक हुन सक्ने अवस्था थिएन ।

९४ प्रतिशत जनता हिन्दूधर्मप्रति आस्थावान रहेको अवस्थामा सहजै हिन्दूराष्ट्र हुनुपर्ने हो तर, नेपाल धर्मनिरपेक्ष राष्ट्र भैसकेको अवस्थामा दुई तरिकाले मात्र नेपाल हिन्दूराष्ट्र घोषणा हुन सक्दछ

१. संविधान संशोधन गरेर ।

२. जनमतसंग्रह गरेर ।

नेपाली कांग्रेस

यो दुबै काम गर्नको लागि नेपाली कांग्रेस तयार हुन जरुरी छ । यो मुद्धालाई लिएर संविधान संशोधन गर्न वा जनमत संग्रह गर्न मुलुकको प्रमुख प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको अहम् भूमिका छ । भर्खरै प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसभित्र चर्को बहस प्रारम्भ भएता पनि पार्टी नेतृत्व डगमगाएको छैन ।

शान्ति प्रक्रियामा अहम् भूमिका खेल्ने व्यक्ति, संविधान निर्माणमा अतुलनीय भूमिका खेल्ने व्यक्ति तथा संघर्षशील जनताको छोराको तर्फबाट नेपाली कांग्रेसको भावी सभापतिका रुपमा हेरिएका नेता कृष्णप्रसाद सिटौला ‘सरकार कै कमजोरीका कारण हिन्दूराष्ट्रको बहस चर्केको’ बताउँनुहुन्छ । हिन्दूराज्यको नेपथ्यामा रहेको राजतन्त्रका बारेमा स्पष्ट नभई कांग्रेस औपचारिक रुपमा हिन्दूराज्यको पक्षमा जान सक्दैन भन्ने तर्क अधिकांश नेताहरूको रहेको पाइयो ।

हिन्दूराज्य र धर्मनिरपेक्षताको पक्षमा नेपाली कंग्रेसभित्र मत बिभाजित रहेको अवस्था छ । कांग्रेस सजिलै र छिट्टै हिन्दूराज्यको पक्षमा निर्णय गर्न सक्ने अवस्थामा देखिदैन । केही पारिवारिक विरासत बोकेका नेताहरू बाहेक नेपाली कंग्रेसभित्र केन्द्रदेखि वडासम्मका अधिकांस नेता र कार्यकर्ताहरू नेपालको संविधान र परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निष्ठावान र प्रतिबद्ध छन् । उनीहरू हिन्दूराज्यमा फर्कने संभावना देखिदैन । विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेल लगायत कांग्रेसका नयाँ पुस्ताका नेताहरू हिन्दूराष्ट्रको पक्षमा लाग्ने अनुमान गर्न सकिदैन ।

राप्रपा र राप्रपा संयुक्त

हिन्दूराज्य र सबैको सहमति हुन्छ भने राजसंस्थासहितको लोकतान्त्रको एजेन्डालाई राप्रपा र राप्रपा (संयुक्त)ले उठाएता पनि उनीहरूको संगठनले हिन्दूराज्यको किरालाई राजनीतिक उचाइँमा पुर्‍याउन सक्ने अवस्था देखिएन ।

यस पार्टीका नेताहरूको अडान, दृष्टीकोण र छबि सहि र ठीक भए पनि संगठन विकास हुन सकेन । तीन तहको निर्वाचन परिणामले त्यही तथ्य पुष्टि गरेको छ । यसको समिक्षा र विश्लेषणपछि गरौला । हिन्दूराष्ट्र घोषणा गर्न र गराउन राप्रपा र राप्रपा (संयुक्त)को संगठन क्षमता पर्याप्त छैन ।

नेपाल कम्युनिस्ट पार्टी

पार्टी एकतापछि गत संसदीय निर्वाचनमा प्रदेश नं. २ बाहेक छ वटै प्रदेश सभा र संघीय संसदमा झण्डै दुईतिहाइ हाराहारीमा सुविधाजनक बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै गणतन्त्र र धर्मनिरपेक्षताको एजेन्डालाई अगाडि सार्दै आएका हुन् ।

संवैधानिक हैसीयतमा नै अब नेपाल धर्मनिरपेक्षतामा गइसकेको अवस्थामा पुनः हिन्दूराज्यको पक्षमा फर्केलान् भन्ने विश्वास गर्न सकिदैन ।

भारत

नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउन शुरुमा सकारात्मक सहयोग गरेको छिमेकी मित्रराष्ट्र भारत पछिल्लो समय ‘नेपाल हिन्दूराष्ट्र हुनु पर्दछ’ भनेर धारणा राखेको कुरा संचारमाध्यामबाट अबगत हुन आएको छ । कश्मीरको मुद्धामा अल्झिएको भारत त्यहाँबाट फुर्सद पाउनेबित्तिकै नेपाल सरकारलाई नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने प्रस्ताव पठाउँदै छ भन्ने आरोप छ ।

भारतले आफू हिन्दूराष्ट्र घोषणा नगरिकन नेपाललाई यस्तो प्रस्ताव पठाउला भन्ने कुरा कल्पना गर्न सकिदैन तापनि यो दाबिलाई सत्य नै मान्ने हो भने पनि त्यो प्रस्ताव सार्थक हुन नेपालका दलहरू नै तयार हुनुपर्छ ।

चीन

अर्को छिमेकी राष्ट्र चीन नेपालमा आफ्नै तयारी र चाहना बमोजिम बनेको नेपाल कम्युनिस्ट पार्टीको सरकारलाई अप्ठ्यारोमा पक्कै पार्न चाहँदैन । अक्टोबर ११ तारिखमा भारतको बनारसमा चिनियाँ राष्ट्रपति सी जीन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने संवाद महत्वपूर्ण हुने नै छ ।

भारत भ्रमण लगत्तै स्वदेश फर्कने क्रममा चिनियाँ राष्ट्रपति सी जीन पिङद्वारा अक्टोबर १५ तारिख अर्थात असोज २८ गते गरिने एक दिने नेपाल भ्रमणलाई अत्यन्त महत्वका साथ हेरिनु पर्ने भएको छ ।

नेपाल–भारतको पोल्टामा नजावोस् भन्ने चाहना बोकेको चीनले नेपालको राजनीतिक स्थिरता र दिगो शान्ति कम्युनिस्ट पार्टीको वर्तमान सरकारको आँखाबाट मात्र हेरेको छ । यो अवस्थामा चीनले नेपालको संविधान ०७२ र संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनप्रति सहयोगी हुन्छ नै ।

यो राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण गरिरहँदा नेपाल हिन्दूराष्ट्र हुन्छ र हुनुपर्दछ भन्ने चाहना पूरा हुन्छ कसरी ? यो प्रश्न झन् गम्भीर र पेचिलो बन्दै गैरहेको छ ।

नेपाललाई हिन्दूराष्ट्र बनाउन माहोल बनाउने हो भने मुलुकमा बृहत प्रजातान्त्रिक शक्ति निर्माणको लागि नेपाली कांग्रेस, राप्रपा, राप्रपा (संयुक्त) र मधेशवादी राजनीतिक दल सबै मिलेर लोकतान्त्रिक मोर्चा निर्माण गरेर कुनै अब नेपाललाई संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्रको एजेन्डामा अगाडि बडाउन सके हिन्दूराष्ट्रको लागि माहोल बन्न सक्ने देखिन्छ ।

(लेखक राप्रपा (संयुक्त)का प्रवक्ता हुन्)

Published : Tuesday, 2019 September 3, 10:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया