कम्युनिस्ट समाप्त गर्ने नेतृत्व तरुण दलले लिन्छः जितजंग बस्नेत

भक्तपुर । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आउँदै गरेको भक्तपुर जिल्लाको उपनिर्वाचनको नेतृत्व नेपाल तरुण दलले गरेर पार्टीका उम्मेदवारलाई जिताउन भूमिका खेल्ने बताएका छन् ।

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ४ को दधिकोटको चित्रपुरमा शनिबार आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले उपनिर्वाचनका उम्मेदवारहरूलाई जिताउन तरुण दलले विशेष भूमिका खेल्ने बताए ।

‘उपनिर्वाचन नेपाली कांग्रेसका लागि महत्वपूर्ण छ’, उनले भने, ‘तरुण दलले पार्टीका उम्मेदवारलाई जिताउन भूमिका खेल्नेछ । तरुण साथीहरू आजैदेखि अभियानमा लाग्नु हुनेछ ।’

खड्गप्रसाद ओलीको नेतृत्वमा दुईतिहाइका बलियो कम्युनिस्ट सरकार बनेदेखि मुलुकमा महँगी, भ्रष्टाचार, अराजकता, दण्डहिनता बढेको अध्यक्ष बस्नेतले बताए । कम्युनिस्टहरूले देशलाई अराजकतातर्फ लैजान थालेको उनले बताए ।

नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई कुल्चने काम प्रधानमन्त्री ओलीबाट भइरहेको अध्यक्ष बस्नेतले बताएका छन् ।

‘नेपाली कांग्रेसको नेतृत्वमा संविधान हामीले बनायौँ’, उनले भने, ‘जंगलबाट माओवादीलाई हामीले ल्यायौँ । राणा र पञ्जायत फालेका छौँ । नेपाली कांग्रेस चुनाव हा¥यो होला । हामीले गरेका काम जनतालाई चित्त बुझेन होला । जनतासंग क्षमा चान्छौँ ।’

‘यो देश कांग्रेसले बनाउने हो । अरुले बनाउन सक्दैनन्’, कम्युनिस्टहरूप्रति आक्रामक देखिएको तरुण दलका अध्यक्ष बस्नेतले भने, ‘०६ सालमा कम्युनिस्ट जन्मिदा उनीहरूले राणालाई सहयोग गरे । १७ हजार मान्छेको ज्यान लिएर माओवादी आए । नेपाली कांग्रेसले जंगलबाट माओवादीलाई ल्यायो । केपी ओलीको पार्टीले पनि झापामा हाम्रै मान्छेको ज्यान लिएर आएका हुन् ।’

उनले पहिलो संविधान सभाबाट कम्युनिस्टहरूले संविधान बनाउन नसकेपछि जनताले कांग्रेसलाई दोस्रो संविधान सभामा पठाएको बताए ।

‘बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बनाउन सकेनन्’, उनले भने, ‘सबैले सुशील कोइरालालाई ‘झुसे’ भनेर हेपे । उनै सुशील कोइरालाले संविधान बनाएर दिए ।’

‘केपी ओलीले चुनाव गर्न सकेनन् । चुनाव गराउन कांग्रेस आउनु पर्‍यो । शेरबहादुर देउवाले चुनवा गराए’, उनले भने, ‘सभापति देउवाले आफू हारेर पनि देश र संविधान बचाउनु भएको छ ।’

‘ओली प्रधानमन्त्री भएपछि कुनै पनि राम्रो काम भएको छैन । यो देश जसले बनाएपनि हुन्छ’, अध्यक्ष बस्नेतले भने, ‘देश नेपाली कांग्रेसले मात्रै बनाउने होइन । कम्युनिस्टहरूले बनाउँदा पनि हुन्छ । उनीहरूको दुईतिहाइको बहुमत छ ।’

ओलीले संविधानलाई कुल्चने काम निरन्तर जारी रहेको बताएका छन् । ‘जुन दिनदेखि केपी ओली प्रधानमन्त्री हुनु भयो त्यस दिनदेखि संविधान उल्लंघन भएको छ । उहाँले संविधान कुल्चिनु भएको छ’, उनले भने, ‘संविधान भत्काउन खोजिएको छ ।’

‘देशमा कम्युनिस्ट एक दलीय शासन ल्याउन खोजिएको छ । कम्युनिस्ट जति मजबुद भएपनि भोलिका दिनमा सडकमा ओर्लिएर यो देशमा कम्युनिस्ट समाप्त पार्नुपर्छ’, तरुण दलका अध्यक्ष बस्नेतले भने, ‘मेरो दायित्व सडक आन्दोलन हो । सडक आन्दोलनको नेतृत्व तरुण दलले गर्छ ।’

उनले वाइडबडी, मेलम्ची लगायतमा कम्युनिस्ट सरकारले भ्रष्टाचार गरेको भन्दै छानविनसहित कारबाहीको माग गरेका छन् । ‘केपी ओलीले अब तरुण दलको शक्ति देख्नेछन्’, उनले भने, ‘संविधान र कानून उल्लंघन गरेर भ्रष्टाचार तथा अनियमितता गर्दै जाने हो भने तरुण दल चुप लागेर बस्ने छैन ।’

नेपाल तरुण दलका अध्यक्ष बस्नेतले नेपाली कांग्रेसले नेता तथा कार्यकर्तालाई धेरै दिएको भन्दै पार्टीका लागि केही गर्ने बेला आएको बताएका छन् । ‘हामीलाई कांग्रेसले धेरै दिएको छ । अब हामीले कांग्रेसले दिनुपर्छ’, उनले भने, ‘मैले किन नगर्ने भनेर अगाडि बढ्नुपर्छ ।’

अध्यक्ष बस्नेतले तरुण दलले भक्तपुर कांग्रेसलाई सहयोग गरेकोमा आफू खुसी भएको बताए । उनले भक्तपुरमा तरुण दलको अवस्था र सांगठनिक संरचना राम्रो बनेको भन्दै नेतृत्वको प्रशंसा गरेका थिए ।

Published : Sunday, 2019 September 1, 12:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया