दाङका शिक्षक केसीविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नक्साल, काठमाडौंले माध्यमिक विद्यालय रझेना घोराही, दाङमा कार्यरत शिक्षक गणेश केसीविरूद्ध आरोप पत्र दायर गरेको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार केसीले डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा उत्तीर्ण गराइदिन सहजीकरण गरिदिने बहानामा परीक्षार्थीसँग दश हजार रुपियाँ घुस वापत रकम लिएका थिए ।

सोही अभियोगमा अख्तियारले केसीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्धा दर्ता गराएको हो ।

केसीले घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले उनलाई दस हजार घुसबापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

अनुसन्धानका क्रममा शिक्षक केसीले परीक्षार्थीलाई डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा पास गराइदिने भन्ने बहाना बनाई दस हजार घुस रकम माग गरी लिएको तथ्य पुष्टि हुन आएको प्रवक्ता कोइरालाले जनाएका छन् ।

‘केसीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको देखिँदा निजलाई विगो दस हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Tuesday, 2019 August 27, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया