थुनामा रहेका रवि लामिछानेका समर्थकहरू छुटे

भरतपुर । सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई चितवन प्रहरीले छाडिदिएको छ ।

लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की सोमबार साँझ रिहा भएसँगै चितवन प्रहरीले पक्राउ परेका सबैलाई मंगलबार छाडिदिएको हो । विरोध प्रदर्शनका क्रममा प्रहरीले ४८ जनालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाका अनुसार सोमबार बिहान आफन्तको जिम्मामा उनीहरूलाई छाड्न शुरु गरिएको छ । आफन्त नभएकाहरू मात्रै हिरासतमा रहेको उनले बताए ।

प्रदर्शनका क्रममा भिडलाई उत्तेजित बनाउने, ढुङ्गा प्रहार गर्ने, होहल्ला गर्ने, सामाजिक सञ्जालमा गाली गलौज गरी लेख्नेलाई प्रहरीले पक्राउ गरेको थियो ।

साउन ३० गते शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्कीलाई पक्राउ गरेपछि रिहाईको माग गर्दै प्रदर्शन भएका थिए ।

भरतपुरमा नियमित जसो भएको प्रदर्शनमा प्रहरीले संयमता अपनाएका कारण ठूलो घटना हुन नपाएको स्थानीय प्रशासनले जनाएको छ ।

सो क्रममा प्रहरी नायब उपरीक्षक सहित २१ जना प्रहरी घाइते भएका थिए । भागदौडका क्रममा प्रदर्शनकारीहरूतर्फ केही घाइते भएपनि प्रहरीमा सोको जानकारी नआएको जनाइएको छ ।

कोइरालाले प्रदर्शनका क्रममा के कति अश्रुग्यास प्रहार भएको छ सो को तथ्याङ्क संकलन गर्नेकाम भइरहेको जानकारी दिए ।

साउन २० गते नारायणगढको कंगारु होटलमा शालिकराम पुडासैनीले ज्यान दिएपछि घटना उग्र बनेको थियो ।

Published : Tuesday, 2019 August 27, 2:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया