रविले आज धन्यावाद दिने, कार्यक्रममा सहभागी हुन अपील

भरतपुर । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अदालतबाट धरौटीमा रिहा भएका सञ्चारकर्मी रवि लामिछानेले मंगलबार दिउँसो २ बजे चितवनको नारायणी नदी किनारामा धन्यवाद सभा गर्ने भएका छन् ।

लामिछानेले फेसबुक लाइभबाट दिउसो २ बजे नारयणी नदी किनार प्रदर्शनीस्थलमा धन्यबाद सभा आयोजना गर्न लागेको जानकारी दिए ।

उनले आफ्नो रिहाइका लागि अहोरात्र खटिने सम्पूर्ण सहयोगी, शुभचिन्तकहरूलाई सो कार्यक्रममा उपस्थित भइदिन आग्रह गरेका छन् ।

पाँच लाख धरौटी तिरेर सोमबार साँझ रिहा भएपछि लामिछानेले पत्नी निकिता पौडेलको फेसबुकबाट लाइभ गर्दै आफ्नो रिहाईका लागि आवाज उठाउने सम्पूर्णमा आभार प्रकट गरेका थिए ।

सोमबार धन्यवाद सभा आयोजना गर्ने अवस्था नदेखिएपछि मंगलबार सम्बोधन गरेर मात्र काठमाडौं फर्किने वाचा गरेका थिए ।

उनले आफ्नो समर्थनका क्रममा पक्राउ परेका सबैको विनाशर्त रिहाइको माग गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘हामी तीनै जनाको रिहाइका लागि गर्नु भएको माया र सद्भावको कदर गर्नेछु’, उनले भनेका छन्, ‘यति धेरै शुभचिन्तक हुँनुहुँदो रहेका छ । अझ बढी जिम्मेवारी भएको छु ।’

उनले सम्मानित अदालतको आदेशलाई स्वीकार गर्ने बताउँदै अदालतलाई पूर्ण सहयोग रहने बताएका छन् । उनले आफू धरौटीमा रिहा भएको जानकारी दिए ।

कानूनी प्रावधानमा पूर्ण सहयोग हुने वाचा गरे । केही चित्त नबुझेका कुरामा कानूनीबाटोबाट उपचारको खोजी गर्ने समेत बताएका छन् ।

अदालतको आदेशलाई मनन् गर्दै उनले यस घटनासँग सम्बन्धित कुनै पनि कुरा कार्यक्रममा प्रशारण नगर्ने बताएका छन् । उनले भने, ‘सम्मानित अदालतको सम्मान गर्नेछु । प्रभाव पार्ने छैनौं ।’

उनले भने, ‘अहोरात्र न्यायका लागि आवज उठाउने सम्पूर्णमा अन्तर्मनबाट धन्यवाद दिन चाहान्छु । यो गुन कहिल्यै विर्सन सक्दिन । यो मुस्किलको घडीमा दिनुभएको साथले छाती चौडा राख्नेछु, शिर झुक्न दिने छैन ।’

Published : Tuesday, 2019 August 27, 9:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया