लाखौँ जनताका ‘हिरो’ रविलाई भव्य स्वागत, मंगलबार विशेष कार्यक्रम

भरतपुर । सञ्चारकर्मी रवि लामिछाने अदालतबाट धरौटीमा रिहा भएपछि चितवनको नारायणगढ बजारमा समर्थकहरूले विजयी जुलुस निकालेका छन् ।

हजारौँको संख्यामा रहेका रवि लामिछानेका समर्थकले सोमबार राति साढे आठ बजेसम्म पनि विजयी जुलुस निकालेका हुन् ।

उनीहरूले रवि लामिछानेको पक्षमा नारावाजी गर्नुको साथै अदालतबाट प्रारम्भीक न्याय पाएको बताएका छन् ।

भरतपुरमा पानी परेको छ । पानी पर्दा समेत रविका समर्थकहरूले त्यसको प्रवाह नगरी विजयी जुलुस निकालेका हुन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको एकल ईजलासले रवि लामिछाने र युवराज कँडेललाई धरौटीमा तथा रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

उता, काठमाडौंको नयाँ बानेश्वरमा पनि रवि लामिछानेका समर्थकहरूले सोमबार साँझ विजयउत्सव मनाएका छन् । नयाँ बानेश्वरमा जम्मा भएका हजारौँ समर्थकहरूले खुसीयालीमा रवि लामिछानेको पक्षमा नारावाजी गरेका थिए ।

रवि लामिछानेका समर्थकहरूले मंगलबार काठमाडौं विजयी जुलुस निकाल्ने तयारी गरेका छन् । रवि लामिछानेलाई साथमा राखेर जुलुस निकाल्ने तयारी भएको एक जना समर्थकले बताए ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन प्रहरीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । उनीहरू एघार दिनसम्म चितवन प्रहरीको हिरासतमा बसेका थिए ।

रवि लामिछानेको समर्थनमा हजारौँ समर्थकहरूले भरतपुरमा दैनिक सरह प्रदर्शन गरेका थिए । उनीहरूले रवि लामिछानेलाई फसाइको भन्दै सरकारप्रति आक्रोश पोखेका थिए ।

धरौटीमा रिहा भएपछि फेसबुक लाइभमार्फत रवि लामिछानेले आफ्नो न्यायका लागि साथ दिने देश र विदेशमा बस्ने सम्पूर्ण शुभेच्छुकहरूलाई धन्यावाद दिएका छन् ।

रवि लामिछानेले मंगलबार चितवनको भरतपुरमा सबै शुभेच्छुकहरूलाई विशेष कार्यक्रम गरेर धन्यावाद दिने बताएका छन् । उनले सबैको माया पाएकोमा आभारी भएको बताएका छन् ।

Published : Monday, 2019 August 26, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया