रवि लामिछाने आज छुट्ने सम्भावना न्युन, बल्ल औपचारिक प्रक्रिया शुरु

राजेन्द्र आचार्य

भरतपुर । सरकारी वकिलको कार्यालय चितवनले सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध अभियोगमा मुद्दा दर्ता गराएको छ ।

सरकारी वकिलको कार्यालय चितवनले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययनपछि आइतबार पत्रकार शालिकराम पुडासैनीले ज्यान दिएको सम्बन्धमा दुरुत्साहनमा मुद्दा दर्ता गराएको हो ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार नै सरकारी वकिलको कार्यालयमा आफ्नो अनुसन्धान प्रतिबेदन बुझाएको थियो ।

सहायक जिल्ला न्यायाधीवक्ता प्रकाश थापाका अनुसार सरकारी वकिलको कार्यालयले आइतबार नै पाँच वर्ष कैद र पाँच हजार जरिवानासहित अभियोग पत्र जिल्ला अदालत चितवनमा दर्ता गरिएको छ ।

यो मुद्दाको बहस न्यायाधीश हेमन्त रावलको इजलासमा तोकिएको अधिवक्ता सरिता सापकोटाले जानकारी दिइन् ।

सापकोटाका अनुसार आइतबार बहस सकिने सम्भावना छैन । तीन जनाको बयान लिनुपर्ने भएकाले समय लाग्ने र बहस सोमबार मात्रै हुने अधिवक्ता सापकोटाले बताइन् ।

बहस नसकिएको कारण देखाउँदै पक्राउ परेका तीन जनाविरुद्ध म्याद थप गरिनेछ । उनीहरूलाई आइतबार पुनः हिरासतमै फर्काइनेछ ।

गत साउन २० गते चितवनको एउटा होटलमा पत्रकार शालिकराम पुडासैनीले ज्यान दिएका थिए ।

पुडासैनीको भिडियोको आधारमा सञ्चारकर्मी लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

Published : Sunday, 2019 August 25, 4:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया