सीटईभीटीको बारेमा आएको समाचार गलत छः यादव

काठमाडौं । सीटीईभीटी प्रदेश २ का उपनिर्देशक वसन्तकुमार यादवल ‘सीटीईभीटीको करोडौं बजेट हिनामिना, दोषीलाई संरक्षण’ भनेर रिपब्लिका दैनिकमा प्रकाशित समाचार गलत र तथ्यहीन रहेको दाबी गरेका छन् ।

यादवले रिपब्लिका दैनिकलाई खण्डन पठाइ समाचार निराधार रहेको बताएका हुन् । उनले समाचारमा भनिए जस्तो कुनै सत्यता नरहेको बताएका छन् । सो विषयमा सरोकारवाला निकायलाई जानकारी रहेको र छानविन भइरहेको पनि जनाइएको छ ।

‘सीटीईभीटीको करोडौं बजेट हिनामिना, दोषीलाई संरक्षण शीर्षकमा भदौ ५ गते निस्केको समाचारमा सीटीईभीटी प्रदेश कार्यालय प्रदेश २ र वीपी मेमोरियल पोलिटेक्निक सपहीका कार्यालय प्रमुख र लेखापाललाई सिधै आरोप लगाइएकोले यो समाचार सरासर गतल, तथ्यहीन र निराधार एवम् झुठा भएको जानकारी गराउन चाहन्छु’, खण्डनमा भनिएको छ ।

‘वीपी मेमोरियल पोलिटेक्निक सपही धनुषामा तत्कालीन कार्यरत ल्याब सहायक प्रशिक्षक प्रवीणकुमार ठाकुरले वीपी मेमोरियल पोलिटेक्निक र प्रदेश कार्यालयको चेक चोरी गरी र प्रदेश कार्यालयको नाममा बैंकबाट फर्जी चेक झिकी कीर्ते सहिछाप गरी निज ठाकुरले आफ्नो खातामा रकम ट्रान्सफर गरी फरार भएकोमा निज उपर जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराई छानविन प्रकृया समेत रहेको र सो सम्बन्धी यथार्थ विवरण सीटीईभीटी केन्द्रीय कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गराएको छु’, खण्डनमा भनिएको छ ।

सो समाचार ‘यूनाइटेड पोस्ट साप्ताहिक’बाट साभार गरेर रिपब्लिका दैनिकले सम्प्रेषण गरेको थियो । समाचारका विषयमा सरोकारवाला निकायलाई चित्त नबुझेपछि पीडितको खडन जस्तोको त्यस्तै प्रकाशित गरिएको छ ।

Published : Sunday, 2019 August 25, 1:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया