दश वर्षपछि करातेमा राम लिम्बुको पुनरागमन, देशलाई गोल्ड मेडल दिलाउने

काठमाडौं । करातेका स्टार खेलाडी राम लिम्बू १० वर्ष उमेरमा नै कराते प्रशिक्षण लिएका थिए । उनको जन्म ०३५ सालमा भएको हो । बुबा लालबहादुर लिम्बू र आमा बिफरानी लिम्बुको कोखबाट उदयपुर जिल्लामा जन्मेका लिम्बुले बिराटनगरलाई कर्म थलो बनाए ।

महेन्द्रकुमार राईबाट पहिलो प्रशिक्षण लिएपछि करातेका पूर्व प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठसंग लिम्बुले बिराटनगरमा प्रशिक्षण लिएका थिए । त्यसपछि लिम्बु करातेमा जम्न थाले । साथै उनी करातेका स्टार खेलाडी बन्न सफल भए ।

लिम्बुले आफूलाई करातेका गुरुद्वय महेश र महेन्द्रले स्टार खेलाडी बनाउन मुख्य भूमिका खेलेको बताएका छन् । ‘मेरा आदरणीय व्यक्तित्व भनेकै राष्ट्रिय खेलकुद परिषद् पूर्वकोषाध्यक्ष, करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जन र पूर्व प्रमुख प्रशिक्षक एवम् पूर्व अन्तर्राष्ट्रिय खेलाडी शोभितराज प्रसाइँ नै हुनुहुन्छ’, उनले भने, ‘उहाँहरूको योगदानको मैले सधै कदर गर्नुपर्छ ।’

लिम्बुले ०५२ सालमा धनगढीमा भएको चौथो राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक ल्याएका थिए । ०५३ सालमा बिराटनगरमा भएको प्रथम आमन्त्रित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा लिम्बुले पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदकमा कब्जा जमाए । लिम्बु करातेका उत्कृष्ट खेलाडी समेत घोषित भएका थिए ।

०५३ सालमा पर्वत जिल्लाको कुस्मामा भएको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पनि लिम्बुले स्वर्ण पदक ल्याएका थिए ।

सन् २००१ बंगलादेशमा भएको साउथ एसिएन कराते च्याम्पियनसिपमा स्वर्ण पदक ल्याउनुका साथै लिम्बु वेष्ट फाइटर घोषित भएका थिए ।

भारतको राजधानी नयाँदिल्लीमा सन् २००३ मा भएको चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा लिम्बुले स्वर्ण पदक ल्याएका थिए ।

उनी सन् २००४ दुबईमा भएको अलली प्रिन्स कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दोस्रो भए । ०५७ सालमा क्राउन्स प्रिन्स कप राष्ट्रिय कराते च्याम्पियनसिपमा आठौं साफ गेम स्वर्ण पदक विजेता रवि महर्जनसंग फाईनलमा लिम्बु पराजित भई दोस्रो हुन पुगे ।

पाकिस्तानमा भएको नवौँ साफगेमको फाइनल छनौटमा आठौँ र नवौँ साफगेम स्वर्ण पदक विजेता दीपक श्रेष्ठसँग लिम्बु पराजित भई पुनः दोस्रो हुन पुगे ।

त्यसपछि श्रीलंकामा भएको दशौँ साफ गेमको छनौटमा प्रथम भई लिम्बुले पुनरागमन गरे । दशौँ साफ गेममा लिम्बुले पुनः स्वर्ण पदकको खाता खोले । सोही साफ गेमको फाइनलमा पाकिस्तानका खेलाडीसंग पराजित भई रजत पदकमा सीमित भए ।

सन् २००६ दोहामा भएको १५ औँ एसियन गेममा प्रि क्वाटर र क्वाटर फाइनलमा जितहात पारेर कास्य पदकको लागि भएको भिडन्तमा जापानिज् खेलाडीसंग पाराजित हुँदा उनी पदक बाट बन्चित हुन पुगेका थिए ।

सन् २००९ मा काठमाडौंमा भएको पाचौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याई थाईल्याण्डमा हुने फस्ट एसियन मार्सल आर्ट गेमको लागि छनौट भए । उनी उक्त च्याम्पियनसिपमा क्वाटर फाइनलमा पराजित भए ।

राष्ट्रका लागि यति धेरै पदक ल्याउँदा पनि राष्ट्रिय खेलकुद परिषदले कोचको जागिरसम्म नदिदा लिम्बु निरास छन् । कराते खेल छाडेर लिम्बु व्यापार व्यवसायमा लागेका छन् ।

१० वर्षपछि वर्तमान चिफ कोच मदन उप्रेती र राष्ट्रिय टिमका टिम कोच कुशल श्रेष्ठले पुनः प्रशिक्षणमा फर्कन आग्रह गरेपछि लिम्बु १३औँ साग गेमको टिम कुमुते छनौट लागि काठमाडौं आएका छन् । दोस्रो चरणको छनौटमा उनी परेका छन् । खेलकुद परिषदले भदौ १२ गते फाइनल छनौट गर्दैछ ।

लिम्बुले भने, ‘हामी कराते महासंघको निमन्त्रणमा टिम कुमुतेको लागि खेल्न आएका हो । अहिले हामी १४ जना टिम कुमुतेका खेलाडी क्याम्पमा छौँ ।’ लिम्बुले अहिले कडा प्रशिक्षण लिइरहेका छन् । साग गेममा देशलाई स्वर्ण पदक दिलाउने उनको एक मात्रै लक्ष्य छ ।

‘यसैमध्यबाट छनौट भई ७ जनाले साग गेम खेल्ने भनिएकोमा अहिले आएर सबैले आ–आफ्नो तौल समूहबाट छनौट भई त्यसै समूहबाट प्रथम भएका खेलाडीहरूले आफ्नो तौल समूहमा खेल्ने र दोस्रो भएकाहरूले टिम कुमुतेमा खेल्ने सुन्नमा आएको हुनाले हामी टिममा छनौट भएका तमाम खेलाडीहरूको बिरोध रहनेछ’, लिम्बुले भनेका छन् ।

‘किनकी हामीलाई टिम कुमुतेको छनौट गर्दा नै जानकारी गराउनु पर्थ्यो’, उनले भने, ‘हामीलाई यहि टिम कुमुतेबाट छनौट खेलाडीहरूबाट नै फाइनल छनौट गर्ने भनेका थिए । त्यहीअनुसार छनौट गरियोस् भनी महासंघलाई ध्यानाकर्षण गराउँदछौँ ।’

लिम्बुले भनेका छन्, ‘म १० वर्षपछि करातेमा फर्केको छु । मेरो लक्ष्य भनेको स्वर्ण पदक ल्याई नेपालको अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउने उदेश्य छ । अहिले म दैनिक बिहान बेलुकी गरी ४ घण्टा प्रशिक्षणमा छु ।’

Published : Sunday, 2019 August 25, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया