ऋषि धमलाको खुलासाले रविका शुभेच्छुकहरूलाई खुसीको बाढी

काठमाडौं । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमलाले सञ्चारकर्मी रवि लामिछानेलाई न्यायालयले न्याय दिने बताएका छन् ।

काठमाडौंमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष धमलाले संभवत आइतबार नै जिल्ला अदालत चितवनबाट न्याय पाउन सक्ने बताए । उनले प्रहरीले सबै प्रक्रिया पू¥याएर मुद्धा दर्ता गर्‍यो भने अदालतमा हुने थुनछेकको बहसमा रविले न्याय पाउने बताए ।

‘छानविनलाई स्वतन्त्र र निष्पक्ष र भरपर्दो बनाउनुपर्छ । मुलुकमा कानूनी शासन र विधिको शासन छ’, उनले भने, ‘हाम्रो देशमा न्याय मरेको छैन । रविजीले न्याय पाउनु हुन्छ । भोली (आइतबार) यदि सबै प्रक्रिया पूरा प्रहरीले गर्‍यो र थुनछेकमा गयो भने भोली नै अदालतले न्याय दिन्छ ।’

‘अदालतले रविलाई रिहाइ गरिदिन्छ’, अध्यक्ष धमलाले भने, ‘रविजी कानूनी प्रक्रियामा गइसकेपछि न्यायालयमाथि विश्वास र आस्था राख्नुपर्छ ।’

रवि लामिछानेको सुरक्षाका विषयमा आफूले नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालसँग कुरा गरेको धमलाले बताए । ‘सुरक्षाको विषयमा आईजीपीसँग कुरा गरेको छु । रविजी सुरक्षित हुनुहुन्छ । एसपी दानबहादुर मल्लसँग पनि कुरा गरेको छु ।’

‘जो सुकै भएपनि हिरासतमा सुरक्षित हुनुपर्छ । रवि निर्दोष हुनुहुन्छ । उहाँ डराउनु हुँदैन । अनुसन्धान हुन्छ’, धमलाले भने, ‘अधिवक्ता र न्यायमूर्ति छन् । विश्वले हेरेको छ । सबैले हेरेका छन् । रवि सुरक्षित हुनुपर्छ । हिरासतमा कसैले धम्की दिएको छ भने स्वीकार्य छैन ।’

‘रविजी प्रक्रियामा गइसकेपछि विधिको शासनमा जानुपर्छ । छिटोभन्दा छिटो भोली (आइतबार) नै यसको छिनोफानो हुनुपर्छ’, उनले भने, ‘न्यायालयमा राजनीति घुस्दैन । न्यायालयमा राजनीतिक दवाव हुन्छ भन्ने हुँदैन । जुन किसिमको त्रास छ त्यो मान्नु हुँदैन ।’

रिपोर्टर्स क्लव नेपालका अध्यक्ष धमला रविलाई भेट्न आइतबार चितवन जाने पनि बताएका छन् । ‘म चितवन जाँदै छु । म भोली (आइतबार) नै जान्छु । रविको पक्षमा पहिलो पटक बोल्ने मान्छे मै हुँ’, उनले भने, ‘यो मुद्धालाई राजनीति करण गर्नु हुँदैन ।’

‘प्रचण्डलाई यो विषयलाई नलिन भनेको छु । उहाँले लिएको छैन भन्नुभएको छ’, उनले भने, ‘ठूला नेताले एउटा व्यक्तिलाई कारबाही गर भनेका छन् भन्ने लाग्दैन ।’

Published : Saturday, 2019 August 24, 2:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया