सत्तारुढ कम्युनिस्टबाट गणतन्त्रमाथि खतराः डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्तामा बसेकाहरूबाट गणतन्त्र र संघीयतामाथि खत्तरा बढेको बताएका छन् ।

विराटनगरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा.कोइरालाले गणतन्त्र र संघीयता कम्युनिस्टहरूलाई मन नपरेको बताए ।

केही दिन अगाडी बालुवाटारमा बसेको सर्बदलीय बैठकलाई लक्षित गर्दै डा.कोइरालाले भने, ‘पूर्वराजा र बिप्लव समूहबाट गणतन्त्रमाथि खतरा बढ्यो भनेर निष्कर्ष निकालिए छ । योभन्दा हाँसो उठ्दो कुरो के हुन्छ ?’

‘कसरी खतरा बढ्यो पूर्वराजा र बिप्लव समूहबाट ?’, प्रश्न गर्दै डा.कोइरालाले भने, ‘खतरा त तपाईहरूबाट बढेको छ । जो अहिले राज्य सत्तामा हुनुहुन्छ ।’

नेपाली कांग्रेसका नेता डा.शेखरले कम्युनिष्टहरू व्यवस्था परिवर्तन या संसदीय व्यवस्थाको बिकल्प खोज्नतर्फ लाग्ने हो भने त्यो कम्युनिष्टहरूकै लागि दुर्भाग्य हुने चेतावनी दिए ।

‘संसदीय व्यवस्थाबिरुद्धको लडाइँमा लाग्नु हुन्छ भने यो व्यवस्था जोगाउन हामी पनि जस्तोसुकै लडाइँ लड्न तयार छौं’, उनले भने ।

उनले बिप्लव समूहलाई वार्ता गरेर शान्तिपूर्ण राजनीतिक प्रक्रियाबाट मूलधारमा ल्याउनुको बिकल्प नभएको बताए । डा.कोइरालाले राज्यले निषेधको बाटो अपनाएर देशमा द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोबिन्द शर्मा, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराती, पूर्व सांसद एकराज भण्डारी, वाम बिश्लेषक नरेन्द्रजंग पिटरको उपस्थिति रहेको थियो ।

कम्युनिस्टहरूले मुलुकमा संसदीय व्यवस्था आवश्यक नरहेको बताएका थिए ।

Published : Friday, 2019 August 23, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया