कांग्रेस बनेर हिँड्नुस्, देउवा–पौडेल भनेर नहिँड्नुस्ः रामचन्द्र पौडेल

सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएर देश संकटतर्फ जाँदै छ भनेर जानकारी दिएको बताएका छन् ।

कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई बिहीबार सुर्खेतमा सम्बोधन गर्दै पौडेलले दुईतिहाईको सरकार प्रखर नेताहरूले चलाएका बेलामा कसरी देशलाई संकट आयो ? भनेर प्रश्न गरे ।

‘उनीह‘ले दुईतिहाई बहुमतलाई उपयोग गर्न सकेनन् । संवैधानिक निकायलाई तर्साउने, प्रेसको मुख थुन्न खोज्नतर्फ उहाँहरूले दुईतिहाईको उपयोग गर्नुभयो’, उनले भने, ‘त्यही कारणले देशमा उकुसमुकुसको स्थितिमा आएको हो । यसैले मुलुकमा संकट निम्त्याउँदै छ ।’

‘अब यो कसले गरेको हो ? यसको जिम्मा सरकार चलाउने प्रखर नेताहरूले लिनुपर्छ कि पर्दैन ?’, वरिष्ठ नेता पौडेलले दुईतिहाइको कम्युनिस्ट सरकार चलाउनेहरूलाई प्रश्न गरे ।

‘नेपाली कांग्रेसले आफ्नो भूमिका सम्झन जरुरी छ । हिजो जनताले कम्युनिष्टलाई मत दिए, आज उनीहरूले परिवर्तन खोजेका छन्’, उनले भने, ‘पार्टीलाई पनि हामीले भरोसा गर्न लायक बनाउन सकेनौँ ।’

उनले मुलुकमा राजतन्त्र फर्केर आउने भनेको पृथ्वी पल्टने जस्तै रहेको बताएका छन् । ‘अहिले जनतााले पत्याएको कांग्रेसलाई होइन कम्युनिष्टलाई नै हो’, उनले भने, ‘तर अहिले कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास कम हुँदै गएको छ ।’

‘यो बेलामा हामी सुध्रिएर जनताको भरोसायोग्य पार्टी बनाउन जरुरी छ’, पौडेलले भने, ‘हाम्रा क्रियाकलाप सुधार गर्न जरुरी छ । हिजो के कारणले जनताले विश्वास गर्न सकेनन् त्यो कारण सच्याएर जनताको विश्वास योग्य पार्टी बनाउन आवश्यक छ ।’

नेता पौडेलले कर्णालीको विकासका लागि कृषि क्रान्ति, पर्यटनको विकास र उर्जा शक्तिको विकास गर्न जरुरी रहेको बताए ।

‘यही सम्भावना देखेर नै हामीले पूर्वाधार तयार गरेका छौँ । कर्णालीको सम्भावना अब देखिदै छ’, उनले भने, ‘अहिले सरकारमा रहेका कम्युनिष्ट नेताहरू पूर्वधार तयार गर्नुभन्दा हामीले गरेका योजनाको उद्घाटन गर्नमा व्यस्त हुनुहुन्छ ।’

‘अहिलेको सरकारसँग खै योजना ? राजनीति रुपमा पनि कम्युनिष्टहरूले नेतृत्व गर्न सकेका छैनन्’, उनले भने, ‘सरकारमा प्रजातान्त्रिक संस्कार देखाउन सक्नुपर्दथ्यो । तर उहाँहरू सत्ता केन्द्रित राजनीति गर्न लाग्नुभएको छ ।’

‘प्रशासन हातमा लिएर जनतालाई दुःख दिन खोजेको आभास हामीलाई भएको छ । कम्युनिष्टहरूसंग खुलेर बहस गर्ने बेला आइसक्यो’, उनले भने, ‘उनीहरूले हिजो के बोले आज के गरे । त्यसको मूल्याङ्कन गर्न जरुरी छ ।’

‘सिद्धान्तमा बहस गर्न सक्ने हामी हुन जरुरी छ । कर्णालीका भोलीका संभावना हामीले देखेका छौँ’, नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘अगामी चुनावमा जित्नका लागि यो प्रशिक्षण फलदायी हुन जरुरी छ ।’

नेता पौडेलले पार्टीभित्र एकताको खाँचो रहेको बताए । ‘पहिला हाम्रो घरभित्रका सवै कुरा ठीक राखेर बाहिर निस्कनुपर्छ’, उनले भने, ‘कार्यतालिका बनाएर समयमा काम गरौ भन्ने मेरो प्रस्ताव हो । अहिले आएर यसले गर्न दिएन भन्नु आफुमा विश्वास नभएको हो । निस्वार्थ भएर पार्टी चलाउन थाल्ने हो भने केही अवरोध हुँदैन ।’

‘०७ सालमा नेपाली कांग्रेसले क्रान्ति नगरेको भए सायद यो देशमा स्वतन्त्र रहन सक्दैनथ्यो । पार्टीको सिद्धान्तले जित्ने तर चुनाव हार्ने किन भयो त्यसको समीक्षा गर्नु आवश्यक छ’, उनले भने, ‘न्याय निष्पक्ष र पारदर्शिताका आधारमा पार्टी चलायो भने पार्टीका एकता हुन्छ ।’

‘वास्तविक एकता र वास्तविका हार्दिकता आजको आवश्यकता हो । जनतासँग विकल्प छ त्यसैले हामीले हाम्रो पार्टीलाई जनताको पार्टी बनाउन आवश्यक छ’, उनले भने, ‘राजनीति पार्टीप्रतिको विश्वास घट्दै गयो भने व्यवस्था नै संकटमा पर्न सक्छ । नेपाली कांग्रेस भनेर सबै जना हिड्नुस् । तर, पौडेल– देउवाको भनेर होइन ।’

‘निष्ठाको राजनीतिलाई अगाडि बढाउन सकेनौ भने जनताले पत्याउदैनन्’, उनले भने, ‘हाम्रो समाजवाद भनेको मान्छेलाई मान्छे कै व्यवहार गर्ने भन्ने हो ।’

Published : Friday, 2019 August 23, 1:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया