पोखरेलद्वारा घोराहीमा थारू भाषामा सूचना माग

घोराही । दाङ जिल्लाको घोराही उपमहानगरपालिकासँग थारु भाषामा सूचना माग गरिएको छ ।

उपमहानगरपालिकाले थारु भाषालाई कामकाजी भाषा बनाउने निर्णय गरे तापनि त्यसको अभ्यास भने खासै हुन सकिरहेको छैन ।

थारु भाषाको प्रचलनलाई बढाउने उद्देश्यले गोरक्ष दैनिकका सम्पादक तथा पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले सूचनाको हकको प्रयोग गर्दै थारु भाषामा उपमहानगरपालिकाभित्र निर्माण भएका कृत्रिम तालहरुको विवरण माग गरेका हुन् ।

पोख्रेलले तालको संख्या, अवस्था र लागतका बारेमा आफूलाई चासो भएकाले सूचनाको हक प्रयोग गरी सूचना माग गरिएको बताए ।

‘उपमहानगरपालिकाले थारु भाषालाई कामकाजी भाषा बनाए पनि अभ्यासमा नआएकोमा अनौठो लागिरहेको थियो’, पोख्रेलले भने– ‘मेरो मातृभाषा नेपाली नभए पनि थारु भाषासँग सानैदेखि अभ्यस्त भएका कारण त्यो सूचना थारु भाषामा मागेको हुँ ।’

पोख्रेलले नगरपालिकाले उपलब्ध गराउने सूचना थारु भाषामै नै उपलब्ध गराउन आग्रह गरेका थिए ।

उपमहानगरपालिकाका सूचना भीमबहादुर चौधरीले निवेदन ग्रहण गर्दै निवेदकको आग्रह अनुसार थारु भाषामै सूचना उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

पोख्रेलले थारु भाषामा सूचना माग गर्दा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १८ का वडाध्यक्ष भरत अर्याल र वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे पनि सँगै थिए ।

दुबै वडाध्यक्षले कामकाजी भाषामा रुपमा निर्णय भएको थारु भाषाको प्रचलनका लागि यो निवेदन महत्वपूर्ण हुने प्रतिक्रिया दिएका थिए ।

Published : Thursday, 2019 August 22, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया