गगन थापाको सुझावले पूर्वएमालेभित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले मदन भण्डारी विश्वविद्यालय खोल्ने गरी सरकारले ल्याएको विधेयक रोक्न माग गरेका छन् ।

संसदको बिहीबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा थापाले संघ र प्रदेशले विश्वविद्यालय चलाउन सक्ने संविधानको प्रावधान भएको अवस्थामा पहिला उक्त विषय स्पष्ट गर्न माग गरेका हुन् ।

उनले नेताहरूको नाममा खुलेका फाउण्डेसनको दुई जना विश्वविद्यालयमा रहने व्यवस्था गलत भएको बताए ।

नेपाली कांग्रेसका सांसद ले मदन भण्डारीजस्तै गिरिजाप्रसाद कोइराला र महेन्द्र नारायण निधिको नाममा समेत फाउण्डेसन रहेको र सरकारले ल्याएको विधेयकले नेताहरूको नाममा विश्वविद्यालय खोल्ने बाटो खोलिएको बताए ।

मदन भण्डारी फाउण्डेसनका ‘दुई जना भन्नुको साटो सिधै पूर्वएमालेका दुई जना बस्ने’ भनेर विधेयकमा राख्नु पर्ने उनको सुझाव छ ।

‘प्रत्येक नेताको नाममा सरकारको सम्पत्तिमा कलेज खोल्ने बाटो खोल्यौं’, थापाले भने, ‘यो विधेयक रोक्न म आग्रह गर्न चाहन्छु ।’

नेपालमा विश्वविद्यालयहरू बर्बाद भएको उल्लेख गर्दै थापाले विश्वविद्यालयमा राजनीतिक भर्ती बन्द गर्न माग गरे ।

सांसद थापापछि बोलेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले विधेयक रोक्न थापाले गरेको प्रस्तावको जवाफ फर्काए ।

सांसद अधिकारीले विगतमा थापाले नै मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान समितिमा गएपछि फिर्ता लिएको बताएका छन् ।

‘आज मदन भण्डारीको नाम आएपछि यसलाई रोक्नुपर्छ भन्ने संजोग किन पर्‍यो होला’, अधिकारीले थापाको नाम उल्लेख नगरी भने, ‘यो विषयमा म विचार गर्न चाहन्छु ।’

उनले विज्ञान र प्रविधि विश्वविद्यालय आवश्यक रहेको बताए । नेकपाका सांसद अधिकारीले सरकारी अनुदानमा फाउण्डेसन पूर्वएमालेका नेताहरूले नचलाएको बताए ।

अधिकारीले मदन भण्डारी फाउण्डेसन श्राद्ध गर्न परिवारजन र शुभचिन्तकले चलाएको बताए ।

सो संस्था पवित्र रहेको उल्लेख गर्दै फाउण्डेसनको प्रतिनिधित्व जरूरी नरहेको बताए । उनले बौद्धिक क्षेत्रबाटै विश्वविद्यालय अगाडि बढ्ने बताए ।

Published : Thursday, 2019 August 22, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया