भारतीय विदेशमन्त्री स्वदेश फिर्ता

काठमाडौं । भारतीय विदेशमन्त्री डा.सुव्रमण्यम(एस) जयशंकर स्वदेश फिर्ता भएका छन् ।

बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर बिहीबार स्वदेश फर्किएका हुन् ।

नेपाल उत्रे लगत्तै विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री केपी ओलीसँग बुधबार नै भेटघाट गरेका थिए । ओलीकै विशेष निमन्त्रणामा भारतीय विदेशमन्त्री जयशंकर नेपाल भ्रमणमा आएको जनाइएको छ ।

उनले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका थिए ।

भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उनी बसेकै होटल सोल्टी पुगेका थिए ।

समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई तथा अर्का अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव पनि होटलमै पुगेर भेट गरेका छन् ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी जयशंकरले सहअध्यक्षतामा बुधबार साँझ आयोगको बैठक बसेको थियो । बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी भएका थिए ।

यसअघि, दुई देशका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता हुने गरी नेपाल र भारतका अधिकारीबीच बुधबार सम्झौता भएको थियाे ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी वैद्य र भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणका कार्यकारी निर्देशक राजिवकुमार जैनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा सम्झौता भएको हो । दुवै देशका निकायले गरेको गुणस्तर परीक्षण प्रमाणपत्रलाई एक आपसमा मान्यता दिने सहमतिसहित सम्झौता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक वैद्यले बताइन् ।

नेपालले २६ वटा वस्तुको परीक्षणलाई मान्यता दिन प्रस्ताव गरे पनि भारतले २१ वटालाई मात्र स्वीकृति दिएको छ। अन्तर्राष्ट्रिय मापदण्डका आधारमा दुवै देशका प्रयोगशालाको परीक्षणलाई मान्यता दिने सहमति भए पनि आयात, निर्यात व्यापारमा सहज हुने अपेक्षा गरिएको छ।

नेपालले २६ वटा वस्तुको परीक्षणलाई मान्यता दिन प्रस्ताव गरे पनि भारतले २१ वटालाई मात्र स्वीकृति दिएको छ। अन्तर्राष्ट्रिय मापदण्डका आधारमा दुवै देशका प्रयोगशालाको परीक्षणलाई मान्यता दिने सहमति भए पनि आयात, निर्यात व्यापारमा सहज हुने अपेक्षा गरिएको छ।

यसले नेपाली कृषिजन्य उत्पादनलाई भारतीय बजारमा प्रवेश पाउन सहज हुनेछ। यसअघि नेपालको गुणस्तर सर्टिफिकेटलाई मान्यता नदिएर विभिन्न बहानामा भारतले अदुवा, अलैंचीलगायत कृषिजन्य वस्तु निर्यातमा पटक–पटक अवरोध गर्दै आएको थियो।

निर्यातजन्य सूचीमा रहेका चिया, कफी, जुस, जाम, फलफूल, बेसार, तरकारी, प्रशोधित मह, अलैंची, अदुवा, जडीबुटी लगायत २० प्रकारका वस्तुको गुणस्तर परीक्षण प्रमाणपत्रलाई भारतले मान्यता दिएको हो। निर्यातजन्य खाद्य वस्तुको मापदण्ड पुगेको भने हुनुपर्नेछ। गुणस्तरमा शंका लागेमा दुवै पक्षले पुनः परीक्षण गर्न सक्ने छन्।

केही समयअघि भारतबाट आयात हुने कृषिजन्य वस्तुमा नेपाली पक्षले गुणस्तरको प्रश्न उठाएपछि भारतलाई नैतिक दबाब परेको थियो। अहिलेसम्म नेपालमा उत्पादित खाद्य वस्तु भारतका कोलकातालगायत प्रयोगशालामा परीक्षण गरेको प्रमाणपत्र पेस गरेपछि मात्र निर्यात गर्न अनुमति पाइन्छ।

निर्यात गर्ने वस्तुको गुणस्तर परीक्षण गर्न जाँदा नेपाली व्यापारीले धेरै खर्च गर्नुपर्ने अवस्था छ। अब नेपाली प्रयोगशालामा गरिएको गुणस्तर परीक्षण प्रमाणपत्रलाई भारतले मान्यता दिएपछि व्यापारीलाई सहज हुनेछ। यसले नेपाली वस्तु निर्यातमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले नेपालको खाद्य परीक्षण प्रमाणपत्रलाई भारतले मान्यता दिनु राम्रो उपलब्धि भएको बताए।

विभागले गुणस्तर परीक्षणका लागि विभागले विराटनगर, वीरगन्ज र भैरहवामा प्रयोशाला स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। नेपालबाट हुने व्यापार कुल निर्यातमा भारतसँगको हिस्सा ६४।५९ प्रतिशत छ। गत वर्ष ९७ अर्ब १० करोड ९५ लाख रुपैयाँका वस्तु विदेश निर्यात भएकोमा ६२ अर्ब ७३ करोड १८ लाख रुपैयाँको वस्तु भारत निर्यात भएको थियो।

Published : Thursday, 2019 August 22, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया