रवि र युवराजको अर्काे काण्ड, समर्थकहरूलाई लाग्याे झट्का

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेले भिडियो हटाउन १० लाख माग गरेको रहस्य बाहिरिएको छ ।

तिलक गैरेले लामिछानेले दश लाख रुपियाँ माग गरेको बताएका छन् । शुक्रबार साप्ताहिकका अनुसार गैरेले आफ्ना बाबुको बलात्कारसम्बन्धी भिडियो हटाउन रकम माग गरेका थिए ।

गैरेले लामिछानेलाई साढे तीन लाख रुपियाँ पनि दिएको जनाएका छन् । भिडियो हटाउन रकम लिएर रवि लामिछाने र युवराज कँडेलले गैरेको पैसा झ्वाम पारिदिएका हुन् ।

‘मेरो बुबामाथि २०७५ पुस १९ गते बलात्कारको उजुरी पर्‍यो । बुबालाई चितवन प्रहरीले पक्राउ गर्‍यो’, गैरेले भनेका छन्, ‘अहिले मुद्दा विचाराधीन छ । जसले मेरो बुबालाई बलात्कारको आरोप लगाएकी हुन्, उनले दाङमा पनि अन्यलाई यस्तै आरोप लगाएको सुनेपछि मिसिल खोज्न दाङ गएँ ।’

‘चैतको मध्यतिर हुनुपर्छ । एकाएक ‘सिधा कुरा जनतासँग’मा बलात्कारको पीडित भनिने युवतीलाई बयान फेर्न प्रभावमा पार्न उनको ब्यागमा पाँच लाख राखिदिएको भनेर समाचार प्रशारण भएछ’, गैरेले शुक्रबार साप्ताहिकसँगको कुराकानीमा भनेका छन् ।

‘उनीहरू अदालतमै आएर भिडियो खिचेर गएका रहेछन् । रवि लामिछाने, दीपक बोहरा र युवराज कँडेल आएका रहेछन् । कार्यक्रम प्रशारण भयो’, उनले भने, ‘म दाङमा थिएँ । चितवनमा हाम्रो परिवार पनि थियो । कसैसँग घटनाबारे सोध्दै नसोधी, हुँदै नभएको, गर्दै नगरेको समाचार आएपछि म चितवन फर्किएँ ।’

‘रविको सहयोगी कँडेलको नम्बर फेला प¥यो । मैले उनलाई फोन गरेर अदालतमा विचाराधीन मुद्दामा झूटो कुरो किन बोल्नुभयो रु यो झूटो हो, पीडित भनिएकी युवतीले अरुलाई पनि फँसाएकी छन् भनेँ’, गैरेले भनेका छन् ।

‘कँडेलले अहिले हामी नुवाकोटमा छौँ, यतै आउनु भने । म आउन सक्दिनँ भनेँ’, उनले भने, ‘अफिस कहाँ हो म आउँछु भनेपछि काठमाडौं पानीपोखरीमा मिसिल लिएर आउनु भने ।’

‘म चितवनबाट काठमाडौं आएर पानीपोखरीमा रहेको न्युज २४ को कार्यालयमा गएँ’, गैरेले भनेका छन् ।

‘हामी तीन जना गएका थियौँ । रविलाई दाई भनेर चितवन जिल्ला अदालतमा जे समाचार प्रशारण गर्नुभयो त्यो झूटो हो, पैसा दिएको छैन, लेनदेन गरेको छैन’, उनले भने, ‘मिसिल हेर्नुस्, प्रमाण केही भए मेरो बुबालाई सजाय हुनुपर्छ । नत्र ५९ वर्षको निर्दोषलाई फँसाउनु पाप हो । योबारे बोल्दिनुपर्‍यो भनेँ ।’

‘रवि सरले यसरी बोल्न यो रेडियो एफएम हैन भने । केही समय विवाद भयो । यो घटनाको बारेका अनुसन्धान गरेर कार्यक्रम बनाउनुस् र देखाउनुस्’, उनले भनेका छन्, ‘बुबाको कार्यक्रमको भिडियो युट्युबबाट हटाउनुस् भन्दा त्यत्तिकै कार्यक्रम बनाउन लाग्ने खर्च १० लाख जति दिनु युट्युुबबाट पनि हटाउँला भने ।’

‘म त झसंग भए । म त उहाँको फ्यान थिएँ । अन्यायविरुद्ध आवाज उठाउने व्यक्ति भन्ने लागेको थियो । उल्टो पैसा मागेपछि के भन्ने के भन्ने भयो’, उनले भनेका छन् ।

‘दाइ म त तपाईंको फ्यान पनि हो । अन्यायमा पनि परेको हुँ’, गैरेले भनेका छन्, ‘भिडियो भएपनि हटाइदिनुस् न त भन्दा हामीबाट केही हुन्न, अदालत गए हुन्छ भने ।’

‘पैसा नदिए केही हुन्न भनेपछि मैले १० लाख त छैन, मसँग भएको साढे ३ लाख रुपैयाँ छ, हुन्छ भने लिनुस् भनेँ’, गैरेले रवि लामिछानेसँग भएको कुराकानीबारे भनेका छन्, ‘उहाँले ल योभित्र गएर युवराज कँडेललाई दिनु म हटाइदिन्छु भन्नुभयो ।’

‘म चितवन फर्किएँ । चितवन गएर हेर्दा हटेको रहेनछ । मैले रवि दाइलाई फोन गरेर भिडियो त हटेको रहेनछ भनेँ । उहाँले युवराजसँग कुरा गर्नु भने’, गैरेले भनेका छन्, ‘युवराजलाई फोन गर्दा साढे ३ लाखले भिडियो हट्दैन, नाम चैँ हटाइदिएका छौँ भने । बाँकी पैसा दिन सकिनँ । उल्टो अन्यायमा परेँ ।’

‘रवि लामिछाने बिना स्वार्थ हिँडेको रहेनछ । राम्रो मान्छे रहेनछ भन्ने देखियो’, उनले भनेका छन्, ‘मैले अहिले जे बोलेको छु, त्यसबारे अनुसन्धान होस् । म जहाँ जान पनि तयार छु ।’

Published : Thursday, 2019 August 22, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया