कम्युनिस्ट सरकारका कारण लोकतन्त्र खतरामाः डा.शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुईतिहाइको कम्युनिस्ट सरकारकै कारण लोकतन्त्र खतरामा परेको बताएका छन् ।

विराटनगरमा आयोजित कार्यक्रममा डा.कोइरालाले पछिल्लो समय सरकारले प्रस्तुत गर्ने हरेक विधेयक लोकतन्त्रको विपक्षमा देखिनु यसको उदाहरण भएको बताए ।

डा.कोइरालाले लोकतन्त्रको विपक्षमा सरकारले ल्याउने हरेक विधेयकको कांग्रेसले विरोध गर्ने चेतावनी दिए ।

सरकारको सधैं बिरोध गर्नुपर्छ भन्ने मानसकितामा नेपाली कांग्रेस नरहेको उनले बताए । ‘लोकतन्त्र बचाउ अभियानमा लागेको हो’, उनले भने, ‘सरकारले लोकतन्त्र विरोधी विधेयक ल्याए कांग्रेसले विरोधसँगै संसदमा लडाइँ गर्छ ।’

दुईतिहाईको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा लोकतन्त्रमाथि चौतर्फी आक्रमण शुरु भएको उनले बताए ।

लोकतन्त्र विरोधी विधेयकको सरकार आफैले थुप्रो लगाउँदा सरकार आफै धरापमा पर्दै गएको डा.कोइरालाको भनाई छ ।

मिडिया काउन्सिल विधेयकका विषयमा बोल्दै डा.कोइरालाले सरोकारवालासँग छलफल नगरी ल्याउने मिडिया काउन्सिल विधेयकले लोकतन्त्र धरापमा पर्ने बताएका छन् ।

डा.कोइरालाले लोकतन्त्रको हित र लोकतन्त्रवादीका लागि सो विधेयक फिर्ता गर्दै सरोकारवालासँग छलफल गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

Published : Wednesday, 2019 August 21, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया