काठमाडौं कांग्रेसभित्र चाक्सीबारीको हर्कत, पुडासैनीको सातोपुत्लो उड्यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेस कब्जा गरेको आरोप लगाउँदै आएका नेता प्रकाशमान सिंहले काठमाडौं कांग्रेस र त्यसका भ्रातृ संगठनहरूलाई एकलौटी बनाउने खेल शुरू गरेका छन् ।

प्रकाशमान समूहले काठमाडौं कांग्रेसमा सभापति देउवा र नेता कृष्णप्रसाद सिटौला समूहलाई कार्यसमितिहरूमा ठाउँ नै दिएका छैनन् ।

आफू वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बताउने गरेका नेता सिंहले पौडेलकै नेताहरूलाई पनि कार्यसमिति, भ्रातृ संस्था र विभागहरूमा समेत नराखेको स्रोतको भनाइ छ ।

दुई महिना अगाडि मात्रै काठमाडौं कांग्रेसमा आफू निकटका नेताहरूलाई पदाधिकारी र सदस्यमा नियुक्ति गर्न लगाएका नेता सिंहले नेपाल महिला संघलाई पनि आफ्नो कठपुतली बनाएका छन् ।

काठमाडौं कांग्रेसका सभापति सबुजकृष्ण बानियाँमार्फत सिंहले जिल्ला कार्यसमितिलाई पूर्णता दिएका थिए ।

नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले दिएको निर्देशनलाई समेत लत्याउँदै कांग्रेस नेता सिंहको निर्देशनमा नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष विष्णुदेवी पुडासैनीले तदर्थ समितिहरू गठन गरेकी छिन् ।

नेता सिंहको निर्देशनमा महिला संघ काठमाडौंकी अध्यक्ष पुडासैनीले विधान विपरितका कार्य गरेपछि महिला संघकी केन्द्रीय अध्यक्ष रेग्मीले विधान विपरितका कुनै पनि क्रियाकलाप नगर्न निर्देशनसहित परिपत्र गरेकी थिइन् ।

केन्द्रकै निर्देशन उल्लंघन गर्न खोजेपछि अध्यक्ष रेग्मीले काठमाडौं महिला संघकी अध्यक्ष पुडासैनीलाई स्पष्टीकरणका लागि बोलाइएको छ । स्पष्टीकरणका लागि बोलाएपछि अध्यक्ष पुडासैनी तनावमा परेकी छिन् ।

काठमाडौं उपत्यकाभित्र रहेका दश वटा नगरपालिकामा पुडासैनीले महिला संघको विधान विपरित तदर्थ समिति गठन गरेर आफू निकटका महिला नेतृहरूलाई जिम्मेवारी दिएपछि नेता सिंहको निवास चाक्सीबारीमा संयोजकहरूलाई लगेर सम्मान गराएकी छिन् ।

सम्मान कार्यक्रममा काठमाडौं कांग्रेसका सभापति बानियाँको पनि उपस्थिति रहेको थियो । सो कार्यक्रमलाई देउवा, सिटौला समूहको उपस्थिति नै थिएन ।

नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष पुडासैनी कांग्रेस नेता सिंह निकटकी हुन् । नेता सिंहकै निर्देशनमा पुडासैनीले तदर्थ समिति गठन गरेर सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहलाई पत्तासाफ गरेको आरोप छ ।

१३औं महाधिवेशनमा नेपाली कांग्रेस काठमाडौंमा शेरबहादुर समूहसंगको सहमति पछि सहयोग पाएर जिल्ला सभापति निर्वाचित भएपछि राजनीतिक सहमतीय आधारमा पदाधिकारी र जिल्ला समिति बनाउने प्रतिबद्धता गरेका सबुजकृष्ण बानियाँले एकलौटी गरेर पोल्टिक इथिक्स बिर्सेर अगाडि बढेका छन् ।

तरुण दलको पनि हाम्रो सहयोगमा अध्यक्ष निर्वाचित हुन सहमति गरे अनुरुप पदाधिकारी एवम् सदस्य मनोनय नगरेका प्रकाशमान समूहले सहमति तोडेका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्कीले जिल्लाको राजनीतिमा आफूहरूलाई दवाव राख्न खोजेको भन्दै दवाव स्वीकार नगर्ने बताए ।

उनले काठमाडौं जिल्लाको १४औँ महाधिवेशन र सबै भ्रातृ संस्थाहरूको अधिवेशनहरूमा आफूहरू (देउवा समूह)को समूह हरेक पदमा कडा प्रतिस्पर्धा गर्ने तयारीमा जुटेको बताए ।

उनले विगतमा भएको राजनीतिक सहमतिलाई लत्याएर एकलौटी ढंगले प्रकाशमान सिंह समूह अगाडि बढेको आरोप लगाए ।

‘अहिले काठमाडौं महिला संघमा पनि बिधान विपरित नगर संयोजक गठन गरिएको छ’, उनले भने, ‘हामीलाई यो मान्य हुनेछैन । हामी बिधान र सहमति विपरितका कार्यहरूको बिरोध गरिरहने छौँ ।’

Published : Thursday, 2019 August 1, 3:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया